प्रचण्डलाई बामदेवको जवाफ : “म कुनै गुटमा लाग्दिनँ”



२१ साउन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच भएको भेटवार्ताबारे भ्रम देखिएको भन्दै उपाध्यक्ष गौतमको तर्फबाट स्पष्ट पारेका छन् ।

उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै गुटमा नलाग्ने बताएका छन् । मंगलबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।

“क.प्रचण्डले अब तपाईँ के गर्नुहुन्छ ? भनी सोध्नुभयो,” सुवेदीले भनेका छन्, “उपाध्यक्ष गौतमले म ठूलो सानो कुनै पनि गुटमा लाग्दिनँ भनी प्रचण्डलाई बिदा गर्नुभयो ।” सुवेदीले गौतमको तर्फबाट स्पष्टिकरण दिँदै फेसबुकमा लेखेका छन् ।

साउन १३ गते नै उपाध्यक्ष गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि दुवै अध्यक्षसमक्ष राखेको प्रस्तावलाई अर्का अध्यक्ष केपी शर्मा ओलीले समर्थन रहेको स्पष्ट पारिसकेका छन् ।

गौतमले अघि सारेको ६ बुँदे प्रस्तावमा सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने र अर्को महाधिवेशन सम्म पार्टीको अध्यक्ष पनि ओली नै हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्