कुरीतिविरुद्ध किशोरीहरुको खबरदारी



दाङ – सँगै विद्यालय जाने साथी पढाई छाडेर मजदुरीमा लागे । साथीलाई विद्यालय फर्काउन चाहन्छिन् राजपुर गाउँपालिका वडा नं। ६ निवासी सुशीला रावत । साथीका अभिभावकसँगै किशोरी संवाद समूहमा समेत छलफल चलाउने गरेकी छिन् ।

‘घरमा कमाउने मान्छे नभएपछि धेरैले बिचमै विद्यालय जान छोड्ने गरेका रहेछन’ रावतले भनिन्, ‘विद्यालय जान छाडेका साथीलाई फर्काउने कोशिसमा छौँ ।’

गाउँ घरमा अझै पनि लुकी छिपी बालविवाह हुने गरेको छ । यो समस्या पनि गाउँमा मुख्य समस्याको रुपमा रहेको उनले सुनाइन् । पछिल्लो समय त किशोरहरुमा धुम्रपान र मध्यपानको लत नै बसिसकेको छ । गाउँमा देखिने समस्या समाधानको लागि किशोरीहरुले पैरवी गर्न थालेका हुन् ।

दीगो तथा मर्यादित सामाजिक–आर्थिक शसक्तिकरण कार्यक्रम अन्तरगत राजपुर गाउँपालिकाका ग्रेजुयट फोरममा आवद्ध किशोरीहरु पैरवीमा जुटेका हुन् । एक वर्षअघि संवाद समूहमा आवद्ध भएका किशोरीहरु ग्रेजुयट भएसँगै उनीहरुको जिम्मेवारी थपिएको छ ।

समुदायमा अझै पनि बालबिवाह, जातीय छुवाछुत, बिचमै पढाई छोडेर मजदुरीमा जाने, कुलत तथा दुर्व्यशन, बहुविवाह जस्ता सामाजिक समस्या रहेका छन् । यी समस्या समाधान गर्न किशोरीले सामूहिक प्रयासको थालनी समेत गरेका हुन् ।

‘बालबिवाह भैरहेको छ । जातजातीको बिचमा छुवाछुत अझै छ । विभिन्न किसिमका नराम्रा समस्या छन्’ उनले भनिन्, ‘यी समस्या समाधान गर्न सबैमा सकारात्मक सोंचको विकास गर्ने गरेका छौँ ।’

यती मात्रै होइन किशोरीले समस्यामा परेका परिवारलाई सहयोग समेत गर्ने गरेका छन् । ‘सबै किशोरीहरु मिलेर दुःख परेकाहरुलाई सहयोग गरेका छौँ । गाउँमा एक जना दिदी भन्नुपर्छ । उहाँको बुवा, आमा इन्डिया जानु भएको थियो । त्यहाँको खानेकुरा केही थिएन’ उनले भनिन्, ‘सबै किशोरी मिलेर त्यहाँलाई चामल दिएका थियौँ ।’ पार्वती चौधरी संवाद केन्द्रको सदस्य हुन् । उनलाई संवाद केन्द्रमा हुने छलफलले धेरै नयाँ कुरा सिकाएको छ ।

‘संवाद केन्द्रमा गएर राम्रो राम्रो कुरा सिक्न पाएका छौँ । समाजमा दुःख परेकाहरुलाई साथ दिनुपर्छ भन्ने सिकियो’ उनले भनिन्, ‘छुवाछुत गर्न हुँदैन भनेर समाजमा राखेका छौँ । संवाद केन्द्रमा बसेर म बोल्न सक्ने भएको छु । ठूला मान्छेसँग कुरा गर्न डराउथे । राम्रो काममा जानुपर्छ भन्ने भावना जागेको छ ।’

दाङको विकट गाउँपालिका राजपुरमा किशोर किशोरी र बालबालिकालाई लक्षित गरेर सामाजिक कुरीति, कुसंस्कार विरुद्ध संवाद समूह मार्फत अभियान केन्द्रित गरिएको छ । ३३ वटा ग्रेजुयट फोरम र २८ वटा संवाद समूह मार्फत किशोरीहरुले खबरदारी गर्दै आएको मानव कल्याण वातावरण संरक्षण केन्द्रले सञ्चालन गरेको सिड्स परियोजनाका कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले जानकारी दिए ।

‘गाउँ घरमा रहेका हरेक खालका विकृति, विसंगती विरुद्ध किशोरीहरुले खबरदारी गर्दै समस्या समाधानको लागि पैरवी गर्दै आएका छन्’ अधिकारीले भने, ‘अहिले समुदाय स्तरमा कुसंस्कार, कुसंस्कृति बारे नागरिकहरु स्पष्ट हुन थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्