“प्रधानमन्त्री ओलीले पार्टीभित्र भएको विवादको निकास दिनुपर्छ” : प्रवक्ता श्रेष्ठ



२० साउन २०७७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ छ ।

‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ मंगलबार जिल्ला सदरमुकाम आएका श्रेष्ठले पत्रकार भेटघाटमा भने, ‘त्यसैले उहाँ बैठकमा आउनैपर्छ, अरुको कुरा सुन्ने र आफ्नो कुरा राखेर पार्टीभित्र भएको विवादको निकास दिनुपर्छ, यो उहाँकै जिम्मेवारी हो ।’

वैठकमा सहभागी भएर वृद्धि विवेक पु¥याएर निष्कर्ष निकाल्नुपर्ने श्रेष्ठको भनाइ छ । नेता श्रेष्ठले पार्टी विधिसम्मत रुपमा नचलेको, निष्क्रियजस्तो भएको, आचरणको हिसाबले अरु भन्दा भिन्न हुन नसकेको र सांगठनिक एकीकरण पूरा नभएको भन्दै यसलाई गुणात्मक परिवर्तन गर्ने गरी निष्कर्ष निकाल्नुर्ने बताए ।

ओलीले पार्टी अध्यक्ष वा प्रमबाट राजिनामा दिने भन्ने कुरा पार्टीको औपचारिक प्रस्ताव बनिनसकेको समेत श्रेष्ठले बताए । ‘पार्टी र सरकार दुवै राम्रोसँग चलाउन र सच्याउनका लागि यसो गर्नुपर्छ भनेर व्यक्तिगत विचारहरु प्रकट भएका छन्, तर पार्टीको औपचारिक प्रस्ताव भने होइन,’ उनले भने । यस बिषयमा पनि पार्टीको बैठकले निष्कर्ष निकाल्नुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्