तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न



२० साउन २०७७, काठमाडौं

उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ ।

सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो । चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो । चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो । हाल सबै स्तम्भ पहिचान गर्ने कार्य भएको उनले बताए ।

नेपाल र चीनको सीमाअन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलोमिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रजिअ गिरीले पिल्लर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको बताए । कुल सीमा स्तम्भमध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिल्लर हुम्ला खण्डमा छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्