उज्यालोको भगवान मानिने कुलमानको कार्यकाल सकिदैः ‘सरोकारवाला दोहोरिएको हेर्न चाहन्छन्’



kulman Ghising Pariwartan

१९ साउन २०७७, काठमाडौं

विगतका दिनहरुमा नेपालीहरु १८ घण्टा सम्म लोडसेडिङको समस्या खेप्न बाध्य थियौं । लोडसेडिङको समस्या यति सहज रुपमा समाधान हुन्छ भन्ने अनुमान लगाउन सक्ने अवस्थामा थिएनौ हामी । त्यो अवस्थालाई यहाँसम्म ल्याउनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वपूर्ण योगदान रहेको छ । नेतृत्वमा आएको दुई महिनामै काठमाडौं लोडसेडिङ मुक्त बनाएपछि उनको चर्चा एकाएक चुलियो । जसको कार्यकाल कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।

लोडसेडिङको सास्ती खेपेका नेपालीहरुले कुलमानलाई उज्यालोको भगवान (गड अफ लाईट) भनेर चिन्ने गरेका छन् । घिसिङ आफूले गरेको काम र मेहनतका आधारमा निकै सफल भए र लोकप्रियता पनि उत्तिकै कमाएका छन् । ऊर्जा क्षेत्रको सिस्टम उनले जति अरुले नबुझेको र ऊर्जा क्षेत्रकै विकासका लागि उनी दोहोरिनुपर्ने मत एकातर्फ बलियो छ भने अर्कोतर्फ एउटै व्यक्ति दोहोरिरहनु आवश्यकता नभएको भन्ने पनि केही मत छ ।

कुलमान घिसिङ ०७३ सालको भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए र असोज १ बाट कार्यभार सम्हाले । हाल उनको कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी निर्देशकमा विभिन्न नामहरु चर्चामा आउन थालेका हुन् ।

हाल आएर प्राधिकरण भित्र र बाहिर कुलमानलाई निरन्तरता दिने कि नयाँ नेतृत्व ल्याउने भन्ने बहस शुरु हुन थालेको छ । यद्यपि, प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्त मन्त्रिपरिषद्को निर्णयबाट हुने हो । यसमा दल निकट व्यक्ति राख्ने प्रतिस्पर्धा समेत हुने गरेको छ । अहिले ऊर्जामन्त्री तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्छन् । घिसिङलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याएका थिए ।

चार वर्षअघि नेपालमा दैनिक १८ घन्टा सम्म लोडसेडिङ हामी आफैले खेपेका थियौं । कलकारखानाहरू पेट्रोलियम पदार्थमा निर्भर हुन्थे । रात परेपछि आम सर्वसाधारणलाई मैनबत्ती र वैकल्पिक बत्तिको जोहो गर्न बाध्य हुन्थे । उक्त समयमा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङको आगमन भयो ।

घाटाको प्राधिकरण नाफामा, लोडसेडिङको तनाव छैन
नेपाल प्राधिकरणकै कर्मचारी भएकाले उनलाई विगतमै लोडसेडिङको समस्याबारे जानकारी थियो । नेतृत्वमा आएको दुई महिनामै काठमाडौंमा लोडसेडिङ हटाएपछि उनको चर्चा एकाएक चुलियो । अहिले देशभर लोडसेडिङ अन्त्य भइसकेको छ । घिसिङले लोडसेडिङ मात्रै अन्त्य गरेनन्, वार्षिक ९ अर्ब रुपैयाँ घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याए ।

काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने पहिलो योजना
कुलमानको पहिलो योजना थियो काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउनु । ०७१ सालको लक्ष्मी पुजाका दिनदेखि नै घिसिङले उपत्यकामा लोडसेडिङ अन्त्य भएको घोषणा गरे । उनको कार्यकालमा घण्टौसम्म लोडसेडिङ खेप्नुपरेको छैन । उनकै नेतृत्वमा हाल राजधानीमा विद्युतको तारलाई भूमिगत गरेर व्यवस्थित गर्ने काममा तिब्रताकासाथ अगाडी बढेको छ ।ं

कार्यकारी निर्देशकमा घिसिङको विकल्प
लोडसेडिङ अन्त्य गर्न र विद्युत उत्पादनमा सक्षम देखिएपनि अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको विकल्पमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको नाम समेत चर्चामा ल्याइएको छ । ऊर्जामन्त्री पुनले घिसिङको ठाउँमा विभागका सिंह ल्याउने तयारी गरेको स्रोत बताउँछ । यता प्राधिकरणकै उपकार्यकारी निर्देशक शेर सिंह भाटको नाम पनि चर्चामा आउन थालेको छ । यसैगरी केहीले पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीको नाम पनि चर्चा गर्न थालेका छन् । यस विषयमा बुझ्न ऊर्जामन्त्री पुनसँग सम्पर्कको प्रयास गर्दा उनी सम्पर्कमा आएनन् ।

ऊर्जासँग सरोकार राख्नेहरु घिसिङ दोहोरिएको हेर्न चाहन्छन्
ऊर्जासँग सरोकार राख्नेहरु घिसिङकै कार्यकाल दोहोरिएको हेर्न चाहन्छन् । निजी क्षेत्रका ऊर्जासम्बद्ध व्यक्तिहरु घिसिङलाई दोहोर्याउनु पर्ने माग गर्छन् । तर खुलेर घिसिङ दोहोरिनुपर्ने माग राख्न सक्दैनन् । ऊर्जा प्रवर्द्धक एक अधिकारी भन्छन्, ‘यो सरकारको निर्णय हो । हामी कसैको पक्ष विपक्षमा खुलेर आवाज उठाउँन मिल्दैन तर हाम्रो सर्कलभित्र घिसिङ दोहोरिए हुन्थ्यो भन्ने चाहना छ ।’

प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुनमै निर्भर
विद्युत प्राधिकरणको आगामी कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने विषय प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनमै निर्भर छ । ऊर्जामन्त्री पुनले घिसिङलाई निरन्तरता दिन नसकिने भन्दै आफू निकटहरुसँग घिसिङको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । भने ऊर्जा क्षेत्रमा काम गर्ने अधिकांशले उनको कार्यकाल दोहोर्याइनु पर्ने आवाज उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्