नक्कली प्रहरी बनेर होटल सञ्चालकलाई धम्क्याउने दुईजना पक्राउ



१९ साउन २०७७,काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङले नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले नेपालीले आफू जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल संचालकहरूलाई अभद्र व्यवहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ भनी धम्क्याएको पाइएकाले पक्राउ गरिएको बताए ।

त्यस्तै मल्लले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनि ट्राफिक चोक स्थित पाहुना गेष्ट हाउसमा गई निःशुल्क खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यवहार गरेको भनि जाहेरी परेकाले पक्राउ गरिएको हो ।

शनिबार पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परीच्छेद ५ दफा ११८ (अभद्र व्यवहार गर्न नहुने) कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई आईतबार जिल्ला प्रशासन कार्यालय दाङबाट १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्