रेडियो नेपालका कार्यकारी निर्देशक केसीद्वारा पद बहाली



१८ साउन २०७७, काठमाडौं

रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले आज पद बहाली गरेका छन् ।

सिंहदरबारस्थित सूचना र सञ्चार प्रविधि मन्त्रालयबाट मन्त्रीपरिषद्को निर्णयअनुुसारको नियुक्ति पत्र लिएपछि केसीले रेडियो नेपालको केन्द्रीय कार्यालय पुगेर पद बहाली गरेका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेडियो नेपालका नायव कार्यकारी निर्देशकसमेत रहेका केसीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये सरकारले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो । रेडियो नेपालको इतिहासमा खुला प्रतिस्पर्धामार्फत कर्मचारीबाटै मन्त्रीपरिषद् कार्यकारी निर्देशक नियुक्त भएको यो नै पहिलो पटक हो ।

२०४९ सालमा रेडियो नेपालमा सेवा प्रवेश गरेका नवनियुक्त कार्यकारी निर्देशक केसी २८ वर्षदेखि कार्यरत रही हाल नायव कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारिता तर्फको स्नातकोत्तर तहको गोल्ड मेडलिष्टसमेत रहेका केसीलाई सञ्चार क्षेत्रको बढ्दो विकास र प्रतिस्पर्धाका बिच रेडियो नेपालको पहुँच विस्तार तथा कार्यक्रम तथा समाचारमा स्तरियता र प्रभावकारिता ल्याउने लक्ष्य साथ अघि बढ्नु पर्नेछ ।

रेडियो नेपालको क्षेत्रीयदेखि केन्द्रीय प्रसारणमा रही काम गरेको अनुभव सुनाउँदै उनले आफू रेडियो नेपाललाई आम जनताको ढुकढुकी बनाउनेतर्फ निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।

रेडियो नेपालको प्रसारण पहुँच विस्तार गर्दै नेपाल सरकारको नीति अनुसार आगामी वर्षहरूमा शतप्रतिशत पुर्याउने र डिजिटल प्रविधिमा पनि रेडियो कार्यक्रम तथा समाचार प्रसारण गर्नेतर्फ आफू केन्द्रित रहने कार्यकारी निर्देशक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्