‘प्रचण्ड’ को ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक



१५ साउन २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गरेका विचारहरु विभिन्न ४२ शीर्षकहरुमा समेटिएका छन् ।

संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता मुद्दालाई संस्थागत गर्ने नयाँ संविधानको ‘कोरियोग्राफर’ को भूमिका खेल्दा भोग्नु परेका उथलपुथलकारी परिघटना व्यक्त भएको पुस्तक आफैंमा एउटा ऐतिहासिक दस्तावेज हो ।

२४० बर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।

सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिड्न सक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्न सक्ने लचकदार र समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताको रुपमा खेलिएको ‘प्रचण्ड’को भूमिका पुस्तकमा पाइन्छ ।

विभिन्न राजनीतिक शक्तिहरुबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रुपान्तरणका अनेक प्रयाश पुस्तकमा अभिलिखित छन् ।

पुस्तक प्रकाशनका निम्ति अहोरात्र खटिने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यहरु लगायत पत्रकार, वुद्धिजीवि र शुभेच्छुकहरुमा प्रचण्डले कृतज्ञता व्यक्त गरेका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा पुस्तकमा ३८५ पृष्ठहरु रहेका छन् भने पुस्तकको मूल्य रु. ५०० राखिएको छ ।

यो पनि पढ्नुहोस् : 

नेपाली राजनीतिका ओपन-सेक्रेट ‘प्रचण्ड’

प्रतिक्रिया दिनुहोस्