राजनीतिमा असम्भव भन्ने नै हुँदैन, प्रचण्ड र बिप्लव एउटै मञ्चमा देखिनेछन् : कृष्णप्रसाद धमला ‘गम्भीर’



Prachanda & Biplov

१५ साउन २०७७, काठमाडौं

नेपालमा जनवादी राज्यसत्ता स्थापनाको कम्युनिष्ट माओवादी राजनीतिमा चालीस वर्ष क्रान्तिकारी जीवनयापन गर्नुभएको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका पछिल्ला सैद्धान्तिक र कार्यनीतिक नीति र विचारमा असहमति जनाउँदै वरिष्ठ पोलिट्ब्युरो सदस्य कुष्णप्रसाद धमला (गम्भीर)ले पार्टी परित्याग गर्नुभएको छ । मंसिर ३ गते विज्ञप्ति जारी गर्दै उहाँले उक्त पार्टी परित्याग गर्दै स्वतन्त्र वामपन्थी रहँदै राजनीतिक जीवन अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सम्पादक आनन्द पुनसँगको गरिएको सम्पादित अँश अन्तरवार्ता अघि उहाँको छोटो राजनीतिक जीवनको रुपरेखा तल दिइएको छ ।

सुर्खेत जिल्लामा क्रान्तिकारी कम्युनिष्टमा एक्लो बृहस्पतिको रुपमा स्थापित धमलाले सबथोक गुमाए पनि राजनीतिक आस्था र चरित्र बचाउन सक्नुभएको छ । उहाँको राजनीतिक जीवन वि.सं. २०३५/३६ सालदेखि अनेरास्ववीय छैठौंबाट विद्यार्थी आन्दोलनमा होमिनुहुन्छ । वि.सं २०३८ सालमा जयगोविन्द साहबाट पार्टी सदस्यता लिँदै चौथों एकीकृत महाधिवेशन, मशाल, एकता केन्द्र, नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), मोहन वैद्यको नेकपा–माओवादी, पछि नेत्रविक्रम चन्दको नेकपा माओवादी हुँदै नेकपासम्मको यात्रा गर्नुभयो ।

नेपाल सरकारको कृषि मन्त्रालयमा नायब सुब्बा प्राविधिक सहायकको राजीनामा दिएर उहाँ वि.सं २०५३ सालमा भूमिगत हुनुभयो । २०५३ देखि भूमिगत केन्द्रीय आधार इलाका रोल्पाको थवाङमा केन्द्रीय कृषि विभागका इन्चार्जमा रहनुभयो । रोल्पा क्षेत्रमा कृषि क्रान्ति गर्ने क्रममा व्यवहारिक रुपमा आधुनिक पशुपालन र तरकारी खेती गर्न उहाँले प्रमुख भूमिका निर्वाह गर्नुभयो ।

वि.सं २०६२ सालको रुकुमको चुनवाङ बैठकका प्रस्तावित केन्द्रीय सदस्य जनयुद्धमा सुर्खेत जिल्लामा वरिष्ठ क्षेत्रीय ब्युरो सदस्य हुँदै जिल्ला इञ्चार्ज/सचिवको ६२ देखि ७१ सालसम्म रहनुभयो । उहाँ एकीकृत नेकपा (माओवादी)को केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य पनि हुनुहुन्थ्यो । सोही क्रममा भेरी कर्णाली ब्यूरोका सहइञ्चार्ज समेत बन्नुभएको थियो । पार्टी फुटसँगै नेकपा–माओवादीका केन्द्रीय सदस्य ।

उक्त पार्टी पनि दुई चिरा भएसँगै विप्लवको नेकपामा पोलिट्ब्युरो सदस्यमा निवार्चित र केन्द्रीय स्कूलिङ विभाग इञ्चार्ज । वि.सं २०७५ साउन १० गते थानकोटबाट सातौं केन्द्रीय समितिको बैठकमा उपत्यका ब्युरो इञ्चार्जमा नियुक्त र लगत्तै गिरफ्तार र देशका विभिन्न हिरासतमा तीन महिना जेल यापन गर्नुभएका पार्टीमा गम्भीरको उपनामले चिनिनुहुने कृष्ण धमलाले केही पत्रकारहरुलाई मंसिर ६ गते दिनुभएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं अहिलेसम्म कुनै पनि लाभको पदमा पुग्नुभएको छैन, के अब जोगी बन्ने हो र ?
होइन, राजनीति गर्ने भनेको लाभको पद लिन र भण्डार भर्नको लागि पक्कै होइन । हिजो सैद्धान्तिक राजनीतिक गरें । अब व्यवहारिक राजनीति गर्छु । राजनीतिसँगै घर व्यवहार पनि मिलाउनुपर्‍यो नि । सन्यासी नै बन्ने पक्कै होइन ।

राजनीति वितृष्णा किन जागेको ? जनयुद्धका १७ हजार शहिदको जिम्मा कसले लिन्छ, बेपत्ताको छानविन कस्ले गर्ने ?
जिम्मा सबैले लिनुपर्छ । निरपेक्ष हुने कुरा होइन ।

सुर्खेत जिल्लामा तपाईंको प्रतिष्पर्धी नै छैन, तर किन टिकट पाउनु भएन ?
जनवादी राज्यसत्ता प्राप्त गर्नको लागि संविधानसभाको निर्वाचनमा भाग लिनु अनिवार्य थियो । मैले पाउनै लाग्दा प्रत्यक्षमा अरुलाई दिएर उता पार्टी सञ्चालन पनि प्रभावकारी बनाउने भनिएकाले समानुपातिक सिटमा बसेको हुँ । पार्टी ठूलो हो भनेर पार्टीका हरेक निर्णय मान्दै गएँ । अनुशासनलाई मान्यौं । संघर्ष नै प्रधान मानें ।

भनेसि, यही कारणले स्वतन्त्र हुनुभएको तपाई, अब चुप लागेर बस्नुहुन्छ ?
राजनीतिमा सबै सम्भावना बोकेको हुन्छ । उतार चढाव हुन्छ । सम्भव नभएको कुरा सम्भव हुन पनि सक्छ । स्वतन्त्र वामपन्थी हुँदैमा चुप लागेर बस्ने कुरा आउँदैन । सँधै स्थायी शत्रुु र स्थायी मित्र हुँदैन । देश र जनताको सेव ागर्न राजनीतिमा होमेको मान्छेले बैग्ले किसिमले पनि राजनीति गर्न सक्छ ।

एकीकृत क्रान्तिको कार्यदिशा असफल भएको हो त ?
कुनै पनि सिद्धान्त ब्यवहारबाट सिद्ध हुने हो । त्यो अभ्यासको चरणमा रहेको छ । त्यो सही वा गलत भन्ने कुरा आगामी दिनले निश्चित गर्छ।

विप्लवको कति संख्यामा सेना छ ?
क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग सेना हुनु जरुरी हुन्छ । तर मलाई यो विषयमा बोल्नुपर्छ जस्तो लाग्दैन । मिडियाबाजी र हल्ला धेरै भएका छन् ।

अब, कुन पार्टीमा लाग्नुहुन्छ त ? कि विप्लवकै योजनामा पार्टी छोडुनुभएको हो ?
मेरो त्यस्तो कुनै पनि रणनीति र रहस्य छैन । राजनीति बक्ररेखामा हुन्छ । सर्पको चालमा होइन भ्यागुताको उफ्राईको जस्तो चाल हुन्छ । विप्लवको योजनामा पर्ने मान्छे म पक्कै होइन । पार्टीका समग्र विषयमा असन्तोष जागेपछि स्वतन्त्र वामपन्थी बनेको छु । तपाईंले भनेझैं विप्लव समूहबाहेक अन्य क्रान्तिकारी पार्टीलाई समर्थन गर्न नसकिने होइन । तर तत्काल त्यो स्थिति छैन । पछि कुनै पार्टीसँग आवद्व पनि हुन सकिन्छ ।

पार्टीले किन कारवाही गर्‍यो तपाईंलाई ?
म लगायत कारवाही गरेको होइन । पार्टीका धेरैजस्तो योजनाहरु चुहिएको भन्दै पार्टी चुस्त र दुरुस्त पार्न पार्टीमा शुद्धिकरण अभियान सञ्चालन गरेको हो । छमहिनाको लागि सबैको तह घटुवा गरेको यथार्थ हो । तर पाँचमहिनासम्म पनि कुनै पनि जिम्मेवारी र सम्पर्क रहिन । साथै, नेपाल कम्युनिष्ट पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रही क्रान्तिकारी आन्दोलन र वर्ग संघर्षको मोर्चामा नेतृत्व गर्दे आइरहेकोमा पार्टीका पछिल्लो योजना र समग्र विषयमा सहमति हुन सकिन । पुनः पार्टीले पोलिट्ब्युरो सदस्यको जिम्मेवारी दिन सक्थ्यो तर योजना र समग्र विषयमा नै असहमति भएपछि पार्टीसँग नाता कायम गराइराख्नु जायज भएन ।

तपाईंले काठमाडौंमा चन्दा लिएर कसरी घरसम्पत्ति थप्नुभयो भन्ने आरोप छ नि ?
म पार्टीको वरिष्ठ पोलिटब्युरो सदस्य । कँहीकतै अनुचित कार्य गरेको छैन । अवैध रुपमा घर किनेको छैन । त्यो वैध नै हो । मेरो पैतृक सम्पत्ति सुर्खेत रेडियो नेपाल भन्दा पश्चिममा जुम्ला राजमार्गसँगै ढलान घरसँगै दुईकठा दुई धुरको खेत एककरोड बीसलाखमा जुम्लाको व्यापारीलाई बेचेर यहाँ ८० लाखको घर किनेको तीनवर्षजति हुन लाग्यो । मैलै चन्दाको रुपमा एक पैसा पनि लिएको छैन । कतै अनुचित कार्य गरेको ठहर भए कारवाही भोग्न तयार छु । त्यो चुनौती आरोप लगाउनेलाई दिन चाहन्छु । छोराहरु भन्डै बेपत्ताको स्थितिमा सेनाले पुर्‍याएको थियो । बरु मैले धेरै गुमाएँ । केही पाएको छैन । भएको पैतृक सम्पत्तिमा त्यसरी गिदेदृष्टि लगाउनु हुन्थेन ।

जोगी बन्नलाई होइन राजनीति भन्नुभयो, तर लाभको पदमा कतै जानुभएन, उल्टै भएका सम्पत्ति गुमाउनुभयो । एक हिसाबमा जोगी नै भइसक्नुभयो नि । सुनिन्छ, आन्दोलनमा लागेर तपाईंको सुर्खेत, वीरेन्दनगरमा रहेका अन्य दुईवटा खेतहरु पनि गुमाउनुभयो रे, वास्तविकता के हो ?
जोगी बन्नलाई पक्कै होइन । जोगीको पनि त बनेको छैन । हो, मेरो बुलुबले ताल मन्तिर रहेको खेत र रेडियो नेपाल मुन्तिरको खेत आन्दोलनको दौरानमा घर व्यवस्थापन गर्दा गुम्न पुग्यो । म कृषि मन्त्रालयको कृषि सहायक प्राविधिक थिएँ । मैलै कमाएको आधा पैसा पार्टी सञ्चालनमै जान्थ्यो । जनयुद्ध शुरु भएपछि ५३ सालतिर मेरो घरमा छापा मारेपछि म जनयुद्धमा होलटाइमर भएर हिँडे । सोही क्रममा दुईवटा खेतहरु बेच्नुपर्‍यो । घर र घरसँगै रहेको खेत बेचेर आएको हुँ ।

तपाईंले सदस्यता दिनुभएका लेखराज भट्ट अहिले मन्त्री हुनुभएको छ । धर्मेन्द्र बास्तोला विप्लव समूहको उपल्लो तहमा हुनुहुन्छ । अहिले तपाईंलाई राजनीतिक वितृष्णा किन जागेको ?
हो, उहाँहरुले त्यो स्थानमा पुग्नु राम्रो हो । आ–आफ्ना व्यवस्थापन गर्नुभएको छ । त्यसमा म अति खुशी छु ।

विप्लव समूह किन उठाउन सकेन ?
हामीले पूरानै पाराले क्रान्ति उठाउन नसक्ने निष्कर्ष गर्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाका अहम प्रश्नलाई समाधान गर्नको लागि पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति रोल्पाको थवाङबाट प्रतिपादन गर्‍यौं । नयाँ कार्यदिशा भएन भने गन्तब्यमा पुग्न सकिंदैन । तर पछिल्ला निर्णय र योजनाहरु ब्यवहारिक रुपमा सफल हुन सकेन ।

परित्याग गरेको पार्टीका नेता विप्लव र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई के सुझाव दिनुहुन्छ ?
नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई बधाई दिन चाहन्छु र उहाँलाई माओवादी कम्युनिष्ट आन्दोलनका मूल्य मान्यतालाई पूरा गर्दै राष्ट्रियता जनतन्त्र र जनजीविकाका अहम प्रश्नलाई समाधान गर्दै जाने अभिभारा झन् थपेको छ । यही काबिलयत बुझेर उहाँले नेतृत्व गर्नुहुनेछ । सहयोद्धा प्रचण्डजीले जनतामा छाएको निराशालाई बुझेर जनताको मन जित्नुपर्छ र नेत्र विक्रम चन्दको नेकपालाई प्रतिबन्ध हटाएर, जेलमा परेका नेता कार्यकर्तालाई रिहा गरेर वार्ताको वातावरण बनाउन सकियो भने विप्लवजीको पार्टी पनि एकतामा आउन बाध्य हुन्छ ।

अन्त्यमा हामीले नसोधेको र तपाईंले भन्नुपर्ने केही धारणा छन् कि ?
अहिले लिपुलेक, लिम्पियाधुरा र कालापानीको सम्बन्धमा राष्ट्रियताको मुद्दा सबै पार्टी, सरकार र जनताको एकमत रहेकाले ओली सरकारले समाधान गरेर भूमि फिर्ता लिन जरुरी छ । समय दिनुभएकोमा तपाईंहरुलाई धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्