‘पशुपति क्षेत्रको गुरुयोजना लागू हुन दिन्नौं’ : डा. राजन भट्टराई



१५ साउन २०७७, काठमाडौं

पशुपति क्षेत्र विकास कोषले ल्याउन लागेको नयाँ गुरुयोजना कुनै पनि हालतमा लागू हुन नदिने नेकपा नेता राजन भट्टराईले बताएका छन् । “स्थानीय, प्रदेश, संघका कुनै जनप्रतिनिधि, पार्टीका नेता, स्थानीय जनतालाई थाह नदिई सुटुक्क ल्याउन खोजेको गुरुयोजना लागू हुन सक्दैन, पास हुन दिईदैन” भट्टराईले बताए ।

नेकपा काठमाडौं महानगरपालिका वडा नं. ८ स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले पशुपति क्षेत्रको मौलिकता, जात्रा, पर्वको संरक्षण गर्नुपर्ने बताए । पशुपतिनाथको आफ्नै मौलिकता छ, गुरुयोजनाको नाममा तिरुपति बालाजीको नक्कल गर्न खोज्नु ठिक
होइन ।

नेकपा नेता निर्मल कुइँकेलले विकास कोषले स्थानीय जनतालाई हेपेको बताए । उनले भने, “पशुपतिमा लास पोलिन्छ, यहाँका जनतालाई कोषले लास जस्तै ठानेका छ । देशमा गणतन्त्र आयो तर कोषमा अहिले पनि निरंकुशता छ।” कोषलाई पुनसंरचना गर्नुपर्ने उनले बताए ।

नेकपा महानगर कमिटी अध्यक्ष निर्मल देउलाले विकास कोषले स्थापना कालदेखि नै जनविरोधि काम गरेको बताए । गुरुयोजनाका नाममा धर्म, संस्कृति लोप हुन नहुने बताए । कार्यक्रममा नेकपा नेता जीवनराम श्रेष्ठले विवादित गुरुयोजना तुरुन्त खारेज गर्न संस्कृति पर्यटन मन्त्रीलाई अनुरोध गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न सुझावहरु राखेका थिए । गुरुयोजनामा सबैभन्दा अनौठो कुरा त गुहेश्वरी भन्दा केही पूर्व त्रिभुवन विमानस्थलको छेउमा २५० रोपनी क्षेत्रफलमा तलाउ निर्माण गर्ने भनिएको छ । त्यति ठूलो तलाउ विमानस्थलको छेउमा बनाउँदा तलाउमा विभिन्न किसिमका चराचुरुंगी आउने र विमान दुर्घटना हुन सक्ने स्थानीय बुद्धिजीवीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्