लाखौँको लागि प्रेरणाको स्रोत पूजा, निरन्तरको मिहिनेतपछि यसरी बनिन् ‘स्टार’



puja sharma

१४ साउन २०७७, काठमाडौँ

पूजा शर्मा, यो नाम नसुन्ने दर्शक कमै होलान् । पछिल्लो समयमा दर्शकको सर्वाधिक मन जित्न सफल नाम हो, पूजा शर्मा । चलचित्र क्षेत्रमा आफूलाई स्थापित गराउन निरन्तर प्रयास गरिरहेपछि अन्ततः उनले सफलता हासिल गरी छोडिन् ।

सानैदेखि चकचके स्वभावकी पूजा घरकी एक्ली छोरी हुन् । कमैलाई मात्र थाहा होला उनको वास्तविक नाम पूजा नभएर पूनम हो । अझैपनि उनलाई घरमा सबैले पूनम नै भनेर बोलाउनु हुन्छ । पूजा त चलचित्र क्षेत्रमा आएपछि मात्र बनाएको नाम हो ।

सानैदेखि नाच्न, गाउन मन पराउने पूजाले यस क्षेत्रमा नै केही गर्ने लक्ष्य लिएकी थिइन् । चलचित्र क्षेत्रमा आउने सपना उनको पहिलेदेखि नै थियो । चलचित्र थ्री लभर्स बाट उनी रजतपटमा भित्रिइन् । चलचित्रमा पूजा नायिका भन्दापनि सह नायिका थिइन् । चलचित्रको मुख्य भूमिकामा भने नायिका प्रियंका कार्की थिइन् । उनको पहिलो चलचित्र नै असफल भयो, न त उनी दर्शकको नजरमा नै परिन् ।

दोस्रो पटक उनलाई निर्देशक सुदर्शन थापाले  अभिनेता आर्यन सिग्देलसँग चलचित्र मधुमासमा काम गर्ने मौका थिए । तर बिडम्बना ‘मधुमास’ लाई पनि दर्शकले कत्तिपनि रुचाएनन् । पूजा आफ्नो डेब्यु चलचित्र मधुमास लाई मान्छिन् किनकी उनी मुख्य नायिकाको रुपमा पहिलो पटक मधुमास नै देखिएकी थिइन् ।

मधुमास असफल भएपनि पूजाले हार मानिनन् र निरन्तर अझै पनि, चङ्खे, शङ्खे, पङ्खे लगायतका चलचित्रमा काम गरिरहिन् । यी चलचित्रमा काम गरिसक्दा पूजाको कामको धेरथोर तारिफ हुन थालेको थियो तर उनले चाहेजति सफलता अझै पाउन सकेकी थिइन् । धेरैपटक असफल भैसक्दा पूजा निराश पक्कै भएकी थिइन् तर पछाडी कहिल्यै फर्किनन् ।

आफ्नो लक्ष्यमा पुग्न हरपल कोशिस गरिरहने मानिस कहिल्यै असफल हुदैँनन् । जसको उदाहरणको रुपमा हामीले नायिका पूजा शर्मालाई नै लिन सक्छौँ । निरन्तर ४–५ वटा चलचित्रमा काम गर्दा पनि उनले दर्शकको मन जित्न सफल भइनन् । अन्ततः  चलचित्र चलचित्र प्रेमगीत मा काम गरेपछि पूजाको जताततै वाहवाही हुन थाल्यो । सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र प्रेमगीत लाई दर्शकले यति रुचाए कि प्रदिप र पूजा एकाएक दर्शकको प्रिय बने । प्रेमगीत लाई व्यवसायिक रुपमा असफल चलचित्र मानिन्छ । तर अहिले पनि प्राय दर्शकको सबैभन्दा मनपर्ने चलचित्र नै प्रेमगीत हो । प्रेमगीत मा पूजाको अभिनयको खुबै नै प्रशंसा भयो । साथै पूजा र प्रदिपको केमेष्ट्रिलाई पनि दर्शकले औधी रुचाए ।

भनिन्छ नि असफलताको पाठले नै हामीलाई सफल बनाउँछ, बस् हिम्मत हारेर आफ्नो लक्ष्यबाट भाग्नु भएन । पूजाले पनि निरन्तर मेहेनत गरिरहेपछि आज यो स्थानसम्म आफूलाई उभ्याउन सफल भएकी छिन् ।

प्रेमगीत बाट पूजाले थुप्रै अवार्डहरु हात पारिन् । अवार्ड भन्दापनि ठूलो उनले सम्मान पाइन्, दर्शकको मनमुटुमा बस्न सफल भइन् । आज पूजा शर्मालाई मन नपराउने कोही छैनन् । उनको नामले मात्र चलचित्र सफल हुने विश्वास राख्छन् चलचित्रका निर्माता, निर्देशक ।

प्रेमगीत पछि पूजाले कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन । प्रेमगीत पछि उनले गरेका म यस्तो गीत गाउँछु, रामकहानी, पोई पर्यो काले लगायतका चलचित्रहरु सफल छन् । आज चलचित्र नगरीमा पूजाको डिमाण्ड र पारिश्रमिक सबैभन्दा धेरै छ ।

बेला बेलामा बोलीको कारण कन्ट्रोभर्सिमा समेत आउने गरेकी छिन् उनी । तर उनले दर्शकबाट आउने हरेक खालका प्रतिक्रियालाई सकरात्मक रुपमा लिने गर्छिन् । किनकी पूजा आफू सफल हुनुको श्रेय सबैभन्दा धेरै आफ्ना दर्शकलाई नै दिन्छिन् । पूजाले आज यो स्थानसम्म आउँछु भनेर कहिल्यै सोचेकी थिइनन् । मेहेनत गर्ने मान्छेको खुट्टा तान्ने मान्छे पनि हुन्छन् । यो क्षेत्रमा पूजालाई गाली गर्नेहरु पनि छन् । तर उनलाई माया गर्ने दर्शक धेरै भएकाले गाली गर्नेहरु केही भएर पनि पूजालाई खासै फरक भने परेको छैन ।

आज पूजा सफल छिन्, उनीसँग कुनैपनि कुराको कमी छैन । तरपनि उनी आफूलाई सफल मान्दिनन् । उनी आफूले अझै धेरै नै मेहेनत गर्न बाकिँ रहेको बताउँछिन् । आफूप्रति दर्शकले दिएको यतिधेरै सम्मा देखेर पूजा कहिलेकाहिँ निकै भावुक पनि हुन्छिन् ।

नायिका पूजा शर्मालाई आज धेरै जनाले आफ्नो प्रेरणाको रुपमा हेर्छन् । यो नै उनको लागि सबैभन्दा ठूलो सफलता हो ।

प्रतिक्रिया दिनुहोस्