बागमती प्रदेशका डीआईजीले गरे मातहतसँग कार्यसम्पादन करार



१३ साउन २०७७, काठमाडौं

बागमती प्रदेश प्रहरी कार्यालयले मातहतका १० जिल्लाका प्रहरी प्रमुखसहित १४ युनिटका प्रमुखसँग कार्यसम्पादन करार गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामाले मातहका प्रहरी कार्यालयसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

तीन चरणमा प्रदेश प्रहरी स्तरीय कार्य सञ्चालन समीक्षा तथा आगामी कार्यनीतिको समीक्षा गरेर प्रदेश मातहतका कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन करार गरिएको प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदिप गिरीले बताए ।

कार्य सम्पादन सम्झौतामा मातहतका कार्यालयहरुले मासिक रुपमा गर्नुपर्ने कामको सुचक तोकिएको छ । ‘प्रहरीको कामलाई स्तरीय र प्रभावकारी बनाउने उद्देश्यले मातहातका कार्यालय प्रमुखहरुसँग कार्य सम्पादन करार गरिएको हो’ गिरीले भने ।

प्रदेश प्रहरी कार्यालयले ०७७ असार ५ मा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा पहिलो चरणको कार्यसम्पादन करा गरेको थियो । तीन चरणमा गरिएको सो सम्झौता अवधि ०७८ असार मसान्तसम्म रहनेछ ।

बागमती प्रदेशका १० जिल्ला र अन्य चार युनिटका प्रहरी प्रमुखले आफ्नो कामको विवरण हरेक महिना प्रदेशमा पठाउनुपर्नेछ । प्रदेश प्रहरी कार्यालयसँग गरिएको सम्झौताका अनुसारको स्वमुल्यांकन प्रतिवेदन आर्थिक बर्ष समाप्त भएपछि डीआईजीलाई बुझाउनुपर्ने बताइएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार सम्झौताको उद्देश्य यस्ता छन् :–

  • सार्वजनिक प्रशासनलाई जिम्मेवार, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी बनाउने ।
  • तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसंग आवद्व गर्दै समग्रतामा जनता र संगठनप्रति जवाफदेही बनाउने ।
  • सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सीर्जनशीलता अभिवृद्वि गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर वढाउन आन्तरिक क्षमता सुदृढ गर्ने ।
  • जिम्मेवारी क्षेत्र भित्रको विद्यमान सुरक्षा चुनौतीहरुको विश्लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभुती दिन गुण्डागर्दी, तस्करी, ठगी, लागुऔषध ओसारपसार, मानव बेचबिखन लगायत अन्य अपराधहरुका साथै भ्रष्टाचारजन्य क्रियाकलाप समेत हुन नदिने ।
  • स्पष्ट योजनाका साथ कार्य प्रारम्भ गर्दै मातहतका सवल दर्जाको मनोबल उठाउने, जनता र प्रहरी विचको सहकार्यलाई निरन्तरता दिन नागरिकहरुमा विश्वास र अपराधीहरुमा त्रास हुने अवस्था सिर्जना गर्ने ।

प्रतिक्रिया दिनुहोस्