रणनीति बारे छलफल, सहमति नभए बहुमतको आधारमा निर्णय गर्ने प्रचण्डको तयारी



१२ साउन २०७७, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलि ११ बजेका लागि तय भएको स्थायी कमिटीको बैठक बस्ने कि नबस्ने निश्चित छैन । बैठक बस्ने–नबस्ने अनिश्चित भएको बेला नेकपाको गुट भेला बिहानैदेखि शुरु भएको छ । स्थायी कमिटीको बैठक बारेमा रणनीति बनाउन बालुवाटार र खुमलटारमा छलफलहरु भइरहेको छ ।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारामा प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटीको बैठक चलिरहेको छ । उता प्रधानमन्त्री निवासमा पनि नेकपाका अर्का अध्यक्ष एवं केपी शर्मा ओलीले आफ्ना निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।

स्थायी कमिटीमा कसरी प्रस्तुत हुने र आफ्नो पक्षबाट कसरी कुरा राख्ने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । सहमतिका लागि थुप्रै प्रयास भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । फलतः अब बहुमतबाट निर्णय गरेरै भएपनि अगाडि बढ्ने मनस्थितिमा अध्यक्ष प्रचण्ड रहेको बताइएको छ ।

प्रचण्ड निवास पुगेका एक स्थायी कमिटी सदस्यले भने, ‘ओली सहमतिमा आउने देखिएको छैन । अब पार्टीबाट बहुमतले निर्णय गरी अगाडि बढ्ने तयारी भइरहेको छ । त्यसअघि ओलीसँग एकपटक पुनः सहमतिका लागि प्रयास गरिनेछ ।’

सोमबार ओली र प्रचण्डबीच छलफल हुने सम्भावना रहेको छ । आपसमा छलफल गर्नुअघि दुवै अध्यक्षले आ–आफ्ना पक्षका शीर्ष नेताहरुसँग परामर्श गरिरहेका छन् ।

स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘विचार र विधिको बहसका लागि एकता महाधिवेशनको विकल्प छैन । अलिहेको विवाद कुर्सी केन्द्रीत देखियो । यसलाई विचारको बहसमा रुपान्तरण गर्नुपर्छ ।’ पोखरेललाई ओली निकट नेता मानिन्छ ।

ओली पक्षले जसरी पनि पार्टीलाई महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार गरिरहेका छन् । सचिवालयमा प्रधानमन्त्री ओलीले महाधिवेशनको प्रस्ताव गरेका छन् । सचिवालयमा निर्णय गराएर स्थायी कमिटीमाबाट पारित गराएर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको सोच रहेको छ ।

प्रतिक्रिया दिनुहोस्