राजदूतहरूले नक्कली काम गरेपछी !!



विदेशस्थित नेपालका विभिन्न कूटनीतिक मिशनमा चरम भ्रष्टाचार हुने कुरा चर्चामा त आउँछन् तर अहिलेचाहिँ कारवाही गर्ने गरी प्रक्रिया अगाडि बढाइँदै छ ।

केपी ओली सरकारको अघिल्लो ०७२ कार्यकालमा राप्रपाको कोटाअन्तर्गत स्पेनका लागि राजदूत नियुक्त अवकाशप्राप्त जर्नेल अहिले अख्तियारको फन्दामा पर्न लागेका छन् । त्यहाँ नयाँ दूतावास स्थापना गर्नुपर्ने जिम्मेवारीसहित पुगेका भरत रायमाझीले चरम आर्थिक अनियमितता गरेका प्रसंगहरू चर्चामा आइरहेका थिए । तर, त्यहीँका एक बासिन्दाले आफूलाई नेपालको शुभचिन्तक हुँ भन्दै उजुर हालेपछि काठमाडौंस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग तात्तिएको हो । यही वर्ष २०२० मार्च १५ मा उनले अख्तियारलाई लेखेको उजुरीअनुसार, राजदूतका रुपमा बहाली हुनुअघि नै राजधानी म्याड्रिड पुग्दा रायमाझीले त्यहाँको एक व्यापारिक कम्पनीको प्रायोजनमा बस्ने, खानेजस्ता काम गरी कूटनीतिक मर्यादा तोडेका थिए ।

उनी म्याड्रिडस्थित होटल वेलिङ्टनमा बसे । C/Velazquez 8, 28001 Madrid ठेगाना रहेको उक्त होटलमा उनी बसेको, खाएको सबै रकम सोही कम्पनीले तिरेको थियो । तर, उनले नक्कली बिल बनाएर दूतावासमा पेश गरी रकमसमेत निकासा लिएको कागजात लिएको भनेर जनआस्थामा समाचार प्रकाशित भएको छ । निवेदकले दावी गरेअनुसार, म्याड्रिड ओर्लिनासाथ सोही निजी कम्पनीको कारले उनलाई ठाउँ–ठाउँमा पु¥याएको थियो । त्यसमा हाम्रो कुनै खर्च लागेको थिएन । तर, उनले त्यसको पनि बिल पेश गरेर भुक्तानी लिए । उक्त खर्चका आधिकारिक बिलहरू होटलले सम्बन्धित कम्पनीका नाममा पठाएको छ । अख्तियारका उजुरकर्ताले राजदूत रायमाझी र किर्ते बिल सदर गर्ने प्रकरणमा संलग्न कर्मचारीमाथि कारवाहीको माग गरेका छन् ।

उता, वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएई– दुबई पुगेका र कोरोनाको कारण त्यतै अलपत्र परेका केही नेपालीलाई त्यहाँस्थित दूतावासका कर्मचारीले ठगी गरेको उजुरी एनआरएनदेखि नेपालका विभिन्न निकायसम्म परेको छ । कामदारहरूले दूतावासका कर्मचारी सुमन पराजुलीसँग भेट्दा भिसामा लगाउनुपर्ने छापका लागि प्रतिव्यक्ति २५ सय दिराम लाग्ने बताए ।

कामदारहरूले २५ सय दिराम सुमनकै हातमा र १५ सय उनले भनेको बैंक खातामा जम्मा गरे । उनले सेमन्तराज न्यौपानेको नाममा रहेको सनराइज बैंकको खाता नम्बर ०३३१०२०७९२०९७ र एनआइसी एसिया बैंकको ०३–१०–२०१९ मा जम्मा १७ सय ५० दिराम जम्मा गर्न लगाएका थिए । यससम्बन्धी उजुरीउपर पनि अख्तियारले कर्मचारीहरूलाई कारबाही गर्न लागेको खबर छ ।

प्रतिक्रिया दिनुहोस्