नेकपाको संकट विभाजन रोक्न अन्तिम प्रयास जारी छः अध्यक्ष प्रचण्ड



०९ साउन २०७७, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संकटमा परेपनि विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गरिरहने बताएका छन् ।

शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विभाजन हुन नदिएर एकताबद्ध राख्ने प्रतिवद्धता जनाएका हुन् । ‘पार्टी विभाजन हुन दिइने छैन र एकताबद्ध राखिनेछ’ प्रचण्डको भनाई छ । उनले नेकपालाई व्यक्ति केन्द्रीत नभई विचार केन्द्रीत पार्टी बनाउने दावी पनि गरे ।

प्रचण्डका अनुसार ‘पार्टीलाई विचार केन्द्रीत बनाइनेछ र विधि र पद्धतिमा चलाइने पार्टी बनाइनेछ । यो बहसको अन्तिम निश्कर्ष पार्टीमा विचार पनि स्पस्ट भएर आउने छ र विधिलाई पालना गर्ने कुरालाई जन्म दिने छ’।

उनले विचारको बहस गर्ने क्रममा कसैले पनि अहिले जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद नै पार्टीको कार्यदिशा बनिनसकेको भन्दै नयाँ विचारको खोजी भइरहेको र त्यसक्रममा पार्टीमा केही विवादहरु देखिएको बताए । उनले पार्टीको विचार नै सर्वैसर्वा हुने भन्दै कम्युनिस्ट पार्टीमा त्यही विचारका आधारमा सामूहिक नेतृत्व प्रणालीको विकास गरिने बताए । ‘पार्टी भनेको विचार विधि हो । विचार र विधि पद्धति नै पार्टी हो । यसमा एकरुपता कायम गर्नुपर्छ । यहि प्रयास हामीले गर्नुपर्छ’, प्रचण्डको भनाई छ ।

प्रचण्डले एकताको २ वर्षसम्म केन्द्रीय समिति बैठक गर्न नसक्नुमा नेतृत्व चुकेको भन्दै यो बीचमा सरकार र पार्टीको सम्बन्धमा दरार उत्पन्न भएको बताए । उनले अहिले सरकारले पार्टीमाथि हैकम चलाएको जस्तो देखिएको पनि बताए ।

उनले सामूहिक निर्णयलाई नमाने एकता निश्कर्षमा नपुग्ने पनि बताए । पार्टी एकतापछि पार्टीमा समाजवादी राजनीति, अर्थतन्त्र र संस्कृतिको बहस चलिरहेपनि त्यो बहस जनतामा लैजान नसकिएको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्