निर्मला काण्ड टुङ्गो लगाउन कस्सिए आइजीपी थापा



०८ साउन २०७७, काठमाडौं

दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले टुंगो लगाउन नसकेको निर्मला काण्डको छिनोफानो गर्न नवनियुक्त प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले अनुसन्धान प्रक्रिया अगाडी बढाएका छन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना भएको दुई वर्ष पुग्दैछ । अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन्। तर, अनुसन्धान टुंगोमा पुराउन दुई प्रहरी प्रमुख असफल छन् ।

यसअघिका दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले यो घटनामाथिको अनुसन्धान टुंगोमा पुर्‍याउन सकेनन्। अनेक चर्चा र विवादमा परेका सर्वेन्द्र खनालको कार्यकालमा अनुसन्धान नै गिजोलियो भने चर्चा, विवाद र काम कम भएका ठाकुर ज्ञवालीले फाइल नै छोएनन्।

यहीबीचमा नेपाल प्रहरीमा प्रमुख बनेका शैलेश थापा क्षेत्रीले भने यो घटनाको अनुसन्धान निष्कर्षमा पुर्‍याउन सक्रियता देखाएको स्रोतले बताएको छ।

प्रहरीे उच्च श्रोतका अनुसार यसका लागि आईजीपी थापाले तीन डीआईजीसँग छलफल गरिसकेका छन्। महानिरीक्षक थापाले यो घटना प्रहरीको छविसँग जोडिएकाले छिटो टुंगो लगाउने योजनाका साथ् छलफल अगाडी बढाएको बताइन्छ ।

महानिरीक्षक थापाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रमुख डीआईजी सहकुल थापा र सीआईबीकै पूर्व प्रमुख समेत रहेका डीआईजी निरज शाहीसँग घटना अनुसन्धानबारे उनले जानकारी लिइसकेका छन् ।

थापाले यो घटना जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउन सुदूरपश्चिम पैहरी प्रमुख सुवेदी र सीआईबी प्रमुख थालाई निर्देशन समेत दिएको स्रोतको दाबी छ ।

यसअघि सीआईबी र प्रहरी महानिरीक्षकको सचिवालयबाट समेत विशेष टोली खटाएको भनिएपनि घटना अनुसन्धान टुंगिएको थिएन। घटनास्थलको प्रमाण संकलनमा लापरबाही गरेको, अनुसन्धानमा तदारुकता नदेखाएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ।

हरेक आईजीपीका लागि यो घटनाको अनुसन्धान मुख्य चुनौती बन्ने गरेको छ। यो प्रकरणमा अनुसन्धान गर्ने प्रहरीविरुद्ध समेत मुद्दा चलाइएको छ। प्रहरीमाथि जथाभावी कारबाहीका कारण पनि नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ।हिमाल पोस्ट मा खबर छ ।

प्रतिक्रिया दिनुहोस्