प्रधानमन्त्रीको अभिव्यक्तिले संसदीय समितिमा प्रवेश पायो



०८ साउन २०७७, काठमाडौं

भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् ।

‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो ।

नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताए । उनले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ । अहिले कतिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न समेत गरे ।

काँग्रेसकै अर्का सांसद पुष्पा भूसालले अनुसन्धान र सत्यतथ्य प्रमाणित नभई प्रधानमन्त्रीले रामराज्य खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताइन् । यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन नहुने उल्लेख गर्दै उनले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन खोज्दा यस्ता विषयवस्तुहरुमाथि सरकार प्रमुखले धारणा राख्नुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन् भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडी बढाउनुपर्नेमा जोड दिए ।

नेकपाका अर्का सांसद सरलाकुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडी बढाउनुपर्ने बताइन् । प्रधानमन्त्री केपी शर्माओलीले भानु जयन्तीका अवसरमा राम नेपालमा जन्मेको र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएपछि अहिले यो विषय चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्