अपराध नियन्त्रणमा लिन भन्दै ट्रम्पले घोषणा गरे ‘अपरेशन लेजेण्ड’



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक गतिविधि बढेको भन्दै विभिन्न शहरहरुमा संघीय सुरक्षाकर्मी पठाउने घोषणा गरेका छन् ।

उनले डेमोक्र्याटिक पार्टीको सत्ता रहेका शहरहरुलाई निशाना बनाएर अपराध नियन्त्रणका नाममा सयौँ संघीय सुरक्षाकर्मी पठाउने भएका हुन् । शिकागो र डेमोक्र्याटको सत्ता रहेका अरु दुई शहर ट्रम्पको निशानामा आएका हुन् ।

तर पोर्टल्याण्ड, ओरिगनसहितका शहरमा संघीय सुरक्षाकर्मीको तैनाथि विवादास्पद बनेको छ । स्थानीय अधिकारीले जारी प्रदर्शन र संघीय सुरक्षाकर्मीको तैनाथिले थप तनाव बढेको भन्दै चासो व्यक्त गरेका छन् ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पुनः निर्वाचित हुने प्रयासमा रहेका ट्रम्पले ‘ल एण्ड अडर’ लाई आफ्नो चुनावी अभियानको प्रमुख सहाराका रुपमा लिएका छन् ।

गएको मे २५ मा मिनेशोटाको मिनियापोलिशमा प्रहरीको ज्यादतीका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि प्रदर्शन हुँदै आएको छ ।

यस्तै महानगर क्षेत्रमा पछिल्लो समय गोलीकाण्डहरु बढेका छन् । न्यूयोर्क सिटी, फिलाडेलफिया, लस एन्जलस, शिकागो, मिल्वाकीसहितका शहरमा गोलीकाण्डका घटना बढेका हुन् ।

ट्रम्पले बुधबार हिंसा नियन्त्रणमा लिनका लागि भन्दै ‘अपरेशन लेजेण्ड’ को घोषणा गरेका हुन् । यो अपरेशनमा संघीय अनुसन्धान व्युरो एफबिआई, मार्शल सर्भिससहितका अरु संघीय एजेन्सीका सुरक्षाकर्मी तथा अधिकारीहरु सामेल हुने छन् ।

प्रतिक्रिया दिनुहोस्