कट्टु छोटो सिलाइदिएको भन्दै प्रहरीमा उजुरी



०५ श्रावन २०७७, काठमाडौं

मानिसहरु बेलाबेलामा अनौठा प्रकारका व्यवहार देखाउने गर्दछन् । मानिसको स्वाभाव र उसले गर्ने हर्कत कहिले कहीँ समाचारको शीर्षक बन्ने गर्दछ । यस्तै घटना भारतको भोपालमा घटेको छ । भोपालमा एक जना टेलरका विरुद्ध प्रहरी चौकीमा उजुरी परेको छ । त्यो पनि कट्टु छोटो सिलाइदिएको नाममा । एक व्यक्तिले कट्टु छोटो सिलाइदिने ती टेलर विरुद्ध आवश्यक कानूनी कारवाहीको माग पनि गरेका छन् ।

भोपालको हबिबगञ्ज प्रहरी चौकी नजिकै भीम नगर निवासी कृष्णकुमार दुबे एक जना टेलरका विरुद्ध प्रहरीमा लिखित उजुरी दर्ता गरेका हुन् । उनको उक्त उजुरी देखेर स्वयम् प्रहरी नै चकित परे ।

उजुरी दिने कृष्णकुमारले आफ्नो छिमेकको टेलरमा दुई मिटर कपडा कट्टु सिलाउन दिएको तर ती टेलरले छोटो कट्टु सिलाइदिएको उजुरीमा लेखेका छन् । कृष्णकुमारले टेलरलाई कट्टु ठूलो पार्न भने पनि नमाने पछि उनले प्रहरीमा उजुरी दिएका हुन् । उनले निज टेलरलाई आवश्यक कारबाहीका लागि अनुरोध गरेका छन् ।

यस बारेमा उक्त प्रहरी चौकीका प्रमुख राकेश श्रीवास्तवले १६ जुलाईका दिन कृष्णकुमार दुबे नामका व्यक्तिले टेलरका विरुद्ध उजुरी दर्ता गराएको स्वीकारेका छन् । उनले यसप्रकारको उजुरीको कारबाहीका लागि प्रहरीको क्षेत्राधिकार भित्र नपर्ने बताएका छन् । प्रहरीले उनको उजुरी अस्वीकार गर्दै अदालत जान भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्