अन्ततः हार मान्दै डोनाल्ड ट्रम्पले लगाए कालो मास्क



३० असार २०७७, काठमाडौं

सय दिनको डायरी लेखेर छाडौं कि भन्ने लागेको थियो तर मन मानेन । संसारमा कोरोना भाईरसको संक्रमण बुलेट ट्रेनको गतिमा अगाडि निरन्तर बढ्दै गईरहेको छ । हरेक दिन जस्तो डब्ल्यूएचओ तथा सीडीसी जस्ता स्वास्थ क्षेत्रमा नाम कमाएका बिख्यात  बिश्व स्वास्थ संस्थाहरू कोरोना भाईरस सम्बन्धी नयाँ–नयाँ बिषयहरु लिएर आईरहेका छन् । एकातिर अन्यौल र अर्कोतिर अव्यवस्थाले संसार तहश–नहस जस्तो देखिन्छ । विकासमा आकाश चुमेको दावा गर्ने अमेरिका प्रति सबै देश तथा जनताहरूले अझै आशाको नजरले हेरिरहेको जस्तो देखिएता पनि स्वयम अमेरिका भने अहिले अन्यौल र संसयको पराकाष्ठामा पुगेको देखिन्छ ।  के गर्ने ? कसरी गर्ने ? कहाँ गर्ने ? कहिले गर्ने ? अहिले अमेरिका अस्पष्ट र अन्यौल देखिन्छ ।  यूरोप भाईरसबाट उम्किन खोजे जस्तो–जस्तो देखिएपनि पूर्णतः मुर्झाएको अवस्थामा पुगेको छ । चीन के हो ? के गर्दैछ ? धेरैलाई पत्तै छैन् । भर्खर डब्ल्यूएचओको सानो एउटा टोली चीन पुगेको छ । भाईरसको उत्पत्तिको बारेमा अध्ययन तथा अनुसन्धान  गर्न । त्यो पनि अमेरिकालाई देखाउनको लागि मात्र हो कि ? किनभने डब्ल्यूएचओलाई आर्थिक सहयोग नै रोकिदिएको अमेरिकाले यो कार्यको लागि भने उसलाई स्वागत गरेको छ ।

भाईरस उही नै भएपनि बिश्व, देश, समाज तथा मानव जनजीवनमा  यसले पार्ने असरहरू बहुआयामिक हुँदै आईरहेका छन् । स्वयम् भाईरस नै पनि आफ्नो रूप परिवर्तन गर्नेमा माहिर देखिएको छ रे ! बैज्ञानिकहरु हत्तु भईरहेका छन् । उनीहरू अझै भनिरहेका छन्– “यो भाईरसको बारेमा हामीहरू अझै पछाडि दौडिरहेका छौं । अझै सिकिरहेका छौं ।” पछिल्लो चरणमा कोरोना भाईरस संक्रमणको कारण शरीरका बिभिन्न भित्री अंगहरू जस्तो कि मृगौला, कलेजो आदिलाई गम्भीर असर गर्ने र साथै शरिरका बिभिन्न भागहरूमा रगत जम्ने जस्तो समस्याहरू देखिन थालेको केहि अमेरिकी स्वास्थ बैज्ञानिकहरुको अनुसन्धानले पत्ता लगाएको छ भनेर भनिएको छ । त्यसभन्दा अगाडि यसले मानिसको मस्तिष्कमा गम्भीर असर गर्ने कुराहरू पनि गरिएको थियो ।

भाईरस बिरूद्धको खोप निर्माणको बारेमा सबैले आ–आफ्नै दावा गरे पनि कसैले दृढ निश्चयको साथ आजसम्म बोल्न सकेको अवस्था छैन । पछिल्लो चरणमा  डब्ल्यूएचओले १८ ओटा खोपहरू क्लिनिकल परीक्षणमा रहेको बताएको त छ तर निश्चय भने कुनै छैनन् ।

भर्खरै रुसले कोरोना भाईरस बिरूद्धको खोप परीक्षण सफल रहेको दावा गरिरहेको भएपनि अमेरिका तथा बेलायत जस्ता देशहरूले यसलाई नपत्याएको जस्तो बुझिएको छ । हुनत खोपको नाममा आ–आफ्नो ब्यापार गर्ने दाउ सबैको होला । यदि रूसको दाबा सहि हो भने सेचनोब विश्वविद्यालयले यसको अन्तिम परीक्षण गरेको हो र यो नै बिश्वको लागि पहिलो सफल परीक्षण भनेर दावा गरिएको छ । यद्धपी अहिले विश्वका बिभिन्न देशहरूमा १४५ भन्दा बढि खोपहरू परीक्षणको बिभिन्न चरणमा रहेको बताईन्छ । अमेरिका भने यो सालको (२०२०) अन्त्यसम्ममा खोपको बितरण जसरी पनि सुरू गर्ने भन्दै आईरहेको छ जबकी खोप बनाउन सकिने नसकिने अझै पत्तो भने छैन । खोपको प्रभावकारीताको बारेमा पनि अन्यौल छ । अमेरिकी केहि बैज्ञानिकहरू भन्छन्–“अमेरिकामा नै हाल प्रयोग भैरहेका सामान्य फ्लूको खोप जस्तै ५०–६० प्रतिशत मात्र यो प्रभावकारी रह्यो भने पनि ठूलै सफलता मान्नु पर्दछ ।” यदि यस्तो हो भने बाँकि ४०५ त समस्या रहि नै रहने भयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अन्नतः कोरोना भाईरसँग हार मान्दै मास्क लगाएका छन् । उनी एक मिलिटरी अस्पतालमा घाईते सैनिकलाई भेटन जादै गर्दा कालो मास्कमा सैनिक अधिकारीहरूका बिच बडो फूर्तीका साथ अगाडि बढ्दै थिए । अहिले उनी भनिरहेका छन्– “म मास्क बिरोधी हैन तर यो कस्तो समय र स्थानमा लगाउनु पर्दछ भन्ने कुरामा म विश्वास गर्दछु । मास्क लगाउनु राम्रो हो ।” अब धेरै अमेरिकीहरूले मास्क लगाउने विश्वास गरिएको छ । जसले कोरोना संक्रमणको दर अमेरिकामा घट्दै जान सक्ने आँकलन गरिएको छ । उता संक्रमणको केन्द्र बिन्दु रहेको अमेरिकाकै फ्लोरिडा राज्यका गभर्नरले आफू पनि मास्क नलगाउने र अरूलाई मास्क लगाउन पनि अनुरोध नगरेकोले त्यहाँ भाईरसको संक्रमण बढेको भनेर त्यहाँकै केही मानिसहरूले बिरोध गरिरहेका छन् ।

भारतमा संक्रमितहरूको संख्या तिब्र रूपमा बृद्धि भईरहेका छ । कतिपय स्थानहरूमा त्यहाँ पुनः लकडाउनको घोषणा गरिएको छ । महाराष्ट्र तथा दिल्ली जस्ता केही शहरहरूका अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ । अस्पतालहरूमा बिरामीहरुको चाँप असामान्य रूपमा बढेको छ । त्यहाँका चर्चित अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातीनीलाई पनि कोरोना पुष्टि भएको खबर छ । एउटा भिडियो क्लिपमा अस्पतालको बेडबाट अमिताभ बच्चन भन्दै थिए–“साँच्चीकै भगबान त यी डाक्टर, नर्स तथा अस्पतालमा काम गर्ने सम्पूर्ण स्वास्थकर्मीहरू रहेछन् ।”

गएको छ हप्तामा बिश्वमा कोरोना भाईरसबाट संक्रमित हुनेहरूको संख्या दोब्बर भन्दा बढि भएको छ । बिश्वमा एक करोड तीस लाख भन्दा बढी मानिसहरू यो भाईरसबाट आजसम्म संक्रमित भैसकेका छन् । अहिले  बिश्वले यो ठूलो समस्या भोगिरहेको छ करिब ७–८ महिना देखि । यो समस्यासँगै अवसरका कुराहरू पनि गरिने गरिन्छन् यदाकदा तर अहिले सुरूमा हामीले यो समस्याबाट जसरी पनि पार पाउनु छ तर बिडम्बना अहिलेसम्म यसले हामीलाई टाउको उठाउन नै दिएको छैन ।

केहिदिन देखि हाम्रो देशमा भने संक्रमितहरूको संख्या घट्दै गईरहेको तथ्यांकमा देखिन्छ ।  हुनत प्रति दिन दश हजारसम्म गर्ने  भनेर भनिएको  भाईरस परीक्षण आजभोलि चार हजारको सेरोफेरोमा सीमित गरिएको छ । यदि साच्चिकै भाईरस संक्रमितहरूको संख्या घट्दै गईरहेको हो भने यो धेरै खुशीको कुरा छ । तर देशका  स्वास्थ बिज्ञहरु नै भनिरहेका छन् कि नेपालमा लक्षण नदेखिने संक्रमितहरूको संख्या ९९% छ भनेर । साथै डब्ल्यूएचओले पनि अहिले बिश्वब्यापी रूपमै यो कुरालाई स्वीकार गरेको छ । यदि यस्तै हो भने यो भाईरस यहाँ भुसको आगो जस्तै भित्र भित्रै सल्किरहेको त छैन ? अहिले हामी सबै यो कुरामा सचेत हुनु आवश्यक छ । हामीलाई हेक्का हुनु पर्दछ कि यो भाईरस नियन्त्रणको एउटै मात्र  बिधि छ संसारमा जो सबैले प्रयोग गरिरहेका छन् । त्यो भनेको परीक्षण–परीक्षण र परीक्षण नै हो ।

केहि दिन अगाडि जर्मनीकी चान्सलर एन्जेला मार्केल भन्दै थिईन्–“लोकप्रिय भईन्छ भनेर सहि तथ्यांकहरु लुकाउने काम यस्तो बेला धेरै घातक हुन सक्छ । जुन देशले सहि तथ्यांक जनतालाई राम्ररी जानकारी गराउन सक्दछ त्यो देशले चाँडै नै कोभिड बाट छुटकारा पाउन सक्दछ ।”

स्मरण रहोस् उनले यो कुरा ब्राजिलले केहिदिन अगाडि प्रतिदिन भाईरस संक्रमितहरूको संख्या र मृत्यु संख्याको सहि जानकारी दिएन भन्ने प्रसङ्गमा भनेकी हुन् ।

चन्द्रदीप लामिछाने
उपप्राध्यापक
त्रिभुवन विश्वविद्यालय

यो पनि पढ्नुहोस् :

लकडाउनका १०० दिनहरू : तथ्य तथा अनुभूति

भाईरसबाट छुटकारा पाउने कोशिष गर्दैछ, न्यूयोर्क

किन जल्दैछ अमेरिका ?

सुरक्षित रहँदै अरूलाई सहयोग गरौं !

प्रतिक्रिया दिनुहोस्