कोरोना संक्रमितलाई मानसिक तनाव दिएकोमा महालक्ष्मी नगरपालिकाका मेयर दुःखी



३० असार २०७७, ललितपुर

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले वडा नम्बर ८ लुभु घर भई बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन युवतीलाई मानसिक तनाव दिएकोमा दुःख प्रकट गरेका छन् । उनले सोमबार ती युवतीबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारले आफूलाई दुःखी बनाउनुका साथै गम्भीर ध्यानाकर्षण गराएको बताए ।

समाचारहरु सार्वजनिक भएपछि युवतीलाई सोमबार बिहान फोन गरेर आत्मबल दह्रो बनाउन आग्रह गरेको उनले जानकारी दिएका छन् । ‘मैले उहाँलाई आफ्नो र परिवारको स्वास्थ्य सतर्कता अपनाउन पनि भनेको छु । स्वास्थ्यकर्मी तपाईं हाम्रो स्वास्थ्य सुरक्षाका लागि खटिने ‘फ्रन्टलाइन’ हुनुहुन्छ,’ सोमबार एक प्रेस नोट सार्वजनिक गर्दै उनले भनेका छन्, ‘नगरबासी उहाँका छिमेकी, आफन्त, साथीभाइहरुलाई कृपया कुनै खालका दबाब, मनोवैज्ञानिक त्रास, अपमान र तिरस्कार नगरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

मेयर श्रेष्ठले संक्रमितलाई हौसला प्रदान गर्न पनि अपिल गरेका छन् । ‘कोरोना भाइरस संक्रमित हुन कसैलाई रहर लाग्दैन । त्यो उहाँको दोष पनि हैन । माया, प्रोत्साहन, उत्साह, प्रेरणा र हौसलाले संक्रमित व्यक्तिलाई निको हुन मद्दत पुग्छ,’ प्रेस नोटमा भनिएको छ ।

नगरपालिकाले ७४ जनाको क्लोज कन्ट्याक्ट र समूदायका १३९ जनाको पीसीआर परीक्षण गरेको छ । मेयर श्रेष्ठले नगरपालिकाले संक्रमण फैलन नदिन हरसम्भव प्रयासहरु गरिरहेको बताउँदै नआत्तित, सचेत रहन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्