महालक्ष्मी नगरवासीलाई नगर प्रमुख रामेश्वर श्रेष्ठको अपिल



२४ असार २०७७, काठमाडौं

महालक्ष्मी नगरपालिकाका नगरप्रमुख रामेश्वर श्रेष्ठले मंगलबार (हिजो) नगरवासीका नाममा अपिल जारी गरेका छन् ।

उनले नगरवासीलाई ‘नआत्तिऔं, सजक बनौं’ भन्दै नगरवासी दिदी बहिनी तथा दाजुभाइहरुको सामूहिक प्रयासबाट कोरोना संक्रमण देशभर फैलँदा पनि आफ्नो नगर क्षेत्र सुरक्षित रहेको जानकारी गराएका छन् ।

नगरपालिकाले अधिकतम सजगता, सतर्कता र लकडाउन पालनामा कठोरपन अपनाउँदा अपनाउँदै पनि पछिल्लो एक सातामा आफ्नो नगरभित्र ७ जनामा संक्रमण पुष्टि भएको बताएका छन् । अथक प्रयास हुँदाहुँदै पनि संक्रमित भेटिँदा नगरपालिका चिन्तित भएको छ – उनले भने, ‘हालसम्म भेटिएका संक्रमितहरु विदेशबाट फर्किएका र अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीमात्र रहेकाले समूदायमा फैलिएको अवस्था छैन । तर, संक्रमणलाई निर्मूल बनाउन तपाईं हाम्रो सजगता थप आवश्यक रहेको मैले महसुस गरेको छु । हाम्रो थोरै र सचेत प्रयास भए समूदायमा फैलनबाट जोगाउन सम्भव छ । संक्रमणलाई रोक्न नगरपालिकाले गर्नुपर्ने सबै खालका प्रयास र पहल गरिरहेको छ ।’

अन्तमा, नगरप्रमुख श्रेष्ठले नआत्तिन, सजक रहन र कुनै पनि सूचना र सहयोग आवश्यक भए वडा कार्यालयमा सम्पर्क गर्न समेत नगरवासीलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्