बाँकेमा एसपी रानाको १५ दिन (उपलब्धीसहित)



२२ असार २०७७, बाँके

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बाँके जिल्लाको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हालेको १५ दिन बितेको छ । उनी असार ५ गते जिल्लामा हाजिर भएका थिए ।

बाँकेमा १५ दिनपहिले सरुवा भइ आएर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बितेका १५ दिनभित्र विभिन्न अपराधमा संलग्न ठूला मोष्ट वान्टेड अपराधी देखि लिएर विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएका छन ।

एसपी राना जिल्लामा हाजिर भएको चार दिन भित्रै बिगत १० बर्ष पहिला सशस्त्र भुमिगत समूह तराई जनतन्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आबद्द रही जिल्लामा हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिस्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन बढी अपराधमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका ३ का धर्मा सिंह भन्ने राजेश यादवलाई प्रहरीले असार ८ गते पक्राउ गर्न सफल भएको थियो ।

अफिम कारोबारमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका ४ का ४८ बर्षिय भगेलु कलवारलाई असार १० गते नेपालगन्ज उपमहानगरपालिका १० मा लुकिछिपी बसेको बेलामा प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी, प्रहरीले असार १० गते नेपालगन्जको बिपि चोक नजिक रहेको एक मोबाइल पसलबाट करीब १ लाख ५० हजार बराबरको सामान चोरी गर्ने विभिन्न ५ जनालाई ११ गते बिहान नेपालगन्ज १० कारागार नजिकबाट पक्राउ गर्न सफल भएको छ ।

एसपी रानाको कमान्डमा रहेको बाँके प्रहरीले डुडुवा गाउँपालिका ३ की १५ बर्षिया बालिकालाई सामुहिक जबर्जस्ति करणी गरी फरार तथा अपहरण तथा शरीर बन्धक र अपराधिक लाभ मुद्दामा एक बर्षदेखि फरार रहेका डुडुवा ३ का बाबरी खाँ (पठान) भन्ने बाबर खाँलाई असार ११ गते डुडुवा ५ बाट नियन्त्रणमा लिएको छ ।

प्रहरीले असार १७ गते भारतबाट भन्सार छली लुकाई छिपाई नेपाल भित्राएको ७ सय बोरा सुपर पावर सुर्तिसहित कोहलपुर २ का बिक्रम भुसाललाई भे १ च २३६५ नम्बरको बलेरो पिकअप जिपसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

त्यसैगरी, असार ५ गते डुडुवा १ का कलिम दर्जी र ईद्रीस दर्जिलाई एकथान भारतिय मोटरसाइकलसहित ९९ पोका अबैध सुर्ती सहित पक्राउ गरेको छ ।

असार १० गते डुडुवा ४ का नइम खाँ र कलाम खाँलाई ३ थान भारतीय मोटरसाइकलसहित ४ बोरा (४ सय पोका) अबैध सुर्तीसहित नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ । मोटरसाइकलमा सवार अन्य केही तस्कर भने भागेका थिए ।

त्यस्तै, असार १७ गते सिमानाका जमुनाहबाट नेपालगन्ज आउँदै गर्दा नेपालगन्ज ८ का राजु राईले चलाएको भे ३ प ३४१२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको पछाडी बसेका नेपालगन्ज ११ का अखिल अहमद जसगढले बोकेको रातो प्लास्टिकको झोलामा रहेको ११ सिसी (११ सय मिलिलिटर) कोरेक्स पक्राउ गरेको छ ।

प्रहरीले असार १७ गते नेपालगन्ज १५ पिप्रहवाबाट २४ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक मुन्ताज अहिमद सिद्दिकीलाई पक्राउ गर्न सफल भएको छ ।

रानाले कमान्ड सम्हालेको १५ दिनभित्र प्रहरीले गाजा सेवन गर्ने, मापसे गरेर हो हल्ला गरी शान्ती सुरक्षा खलल पार्दै हिड्ने लगायतका ४४ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

ट्राफिक चेकिङ्ग तथा कारबाहीमा ११९ थान मोटरसाइकल, ५५ थान ट्याक्टर, २६ थान जिपकार र ११३ थान ट्रकलाई कारबाही गरी १ लाख ५६ हजार ५ सय रुपैयाँ राजस्व असुल गरेको छ ।

त्यसैगरी, प्रहरीले बालबिबाह रोकथाममा पनि उल्लेख्य भुमिका खेलेको छ । असार १३ गते खजुरा ४ का एक जोडी किशोर किशोरीले उमेर नपुगी बालबिबाह गर्न लागेको थाहा पाएपछि ती दुबैजनालाई सम्झाई बुझाई आफ्ना अभिभावकको जिम्मा लगाएको छ ।

असार ४ गतेदेखी हराईरहेकी नेपालगन्ज २० की १७ बर्षिया एक किशोरीलाई असार १४ गते नेपालगन्जको एक मन्दिरमा एकयुवासङ्ग फेला पारी प्रहरीले उनको अभिभावकलाई जिम्मा लगाएको छ ।

प्रहरीले असार २० गते राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, सिमलघारीका ४६ बर्षिय नवराज घर्तिमगरलाई पाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको छ ।

जिल्लाका प्रहरी ईकाइ निरीक्षण तथा भ्रमण
एसपी रानाले जिल्लाका सम्पुर्ण प्रहरी ईकाइहरुको निरीक्षण तथा भ्रमण गरेका छन ।

जिल्लाका ईलाका प्रहरी र मातहतका चौकीहरु, कारागार, नेपालगन्ज बिमानस्थल, हाइवेका सम्पुर्ण युनिट, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय लगायतमा रानाले निरीक्षण भ्रमण गरेका हुन ।

उनले प्रत्येक प्रहरी कर्मचारीको समस्या, गुनासो व्यवस्थापन गरी व्यवसायीक कार्य सम्पादन तथा मनोबल वृद्धिकालागि निरीक्षण भ्रमण गरेको बताए ।

भ्रमणका क्रममा मातहतका प्रहरी युनिटलाई जनताका काम सहज, सरल र छिटो तरिकाले सम्पन्न गर्न तथा कुनैपनि बहानामा प्रहरीलाई आक्षेप आउने काम नगर्न निर्देशन दिएका छन । उनले प्रहरी कर्मचारीलाई सधै जनताको सेवक भइ ईमान्दार तरिकाले राम्रो काम गरे प्रोत्साहन गरिने र प्रहरी संगठनलाई आँच पुग्ने काम गरे कारवाही समेत गरिने निर्देशन दिएको बताए ।

बाँके प्रहरी प्रमुखको रुपमा १५ दिन भित्र भए गरेका कामहरु हेर्दा एसपी रानाले आफुले ल्याएका १७ बुँदे कार्ययोजना कार्यान्वयन सफलताका साथ सम्पन्न गर्ने देखिन्छ ।

तर, बाँके जिल्ला भारतीय खुला सिमासङ्ग जोडिएको हुँदा यता अपराध गरेर बोर्डर पारी भाग्ने, उता अपराध गरेर यता लुक्न आउने अपराधीहरु, गुण्डागर्दी, हत्या, तस्करी, प्राकृतिक दोहन लगायतका समस्याका चुनौती पनि राना समक्ष रहेका छन ।

प्रतिक्रिया दिनुहोस्