असमान आँखाहरु !



असमान आँखाहरु ! 

आफैँलाई सरम लगेर आयो कि म एक जिम्मेवार नेपाली चेली भएर पनि यो विषयमा मौन रहेकोमा । हामीले नबोले परिवर्तन र चेतना कहाँबाट आउला, खोक्रो अभिनय गर्न मैले जानिनँ । एक गृहमन्त्रीले अमेरिकामा पनि विभेद रहेको कुरा भन्नुभयो, तर के हाम्रो देशले केही नयाँ कुरा विकसित देशलाई नदिने, नसिकाउने र गर्न नहुने हो ? कि हामी सक्दैनौं ? अचम्म छ हाम्रो समाज, दलितले छोएको पानी र चुलो नचल्ने तर छोरीहरुलाई बलात्कार गर्न मिल्ने ’ मलाई पछुतो छ नवराज मारिएकोमा, के थाहा उनी एक राष्ट्रका आशलाग्दा युवक पो हुने थिए कि ? २१ ऋौं शताब्दीमा आएर पनि यो जातीय कुरा गर्नु र सुन्नु कतिको अर्थपूर्ण होला ? हाम्रो जस्तो देशमा विकासका कुरा र विकासलाई लिएर अगाडि बढ्नुपर्ने तर आज हामी राणाकालीन युगतिर लम्किएको देख्दा आफैँलाई धिक्कार लाग्छ ।

आज पनि हामी जातीय मुद्दाकै विषयमा छौं । ठूलो जात भनिने कथित जातसँग विवाह र प्रेम गर्न हुन्न भन्ने मान्दछौं । दलितले के जन्मैबाट समाजमा घ्रिणित भएर अगाडि बढ्नुपर्ने हो ? हाम्रो समाज र हामी दलित मारिँदा आफ्नो दुःख् सम्झन्दैनौं र फरक सोच राख्दैनौं भने भोलि हामी हाम्रो सन्ततीलाई के शिक्षा दिन्छौं ? अनि भविष्य शुनिश्चित कसरी बनाउँछौं ? जुन आवाज हामी सबै मिली उठाउनुपर्ने हो, यो विषयमा किन मौन छौं ?

केही पत्रकारहरुले बाहेक समाजका अग्रज व्यक्ति, विश्लेषक तथा राजनीतिज्ञहरुले मौन बस्नुको कारण कतिथ ठूला जातलाई अगाडि बढाएको र मागी खाने भाँडो राख्नु हो भनेर बुझिन्छ । हामीले विद्यालय शिक्षाबाटै जात, धर्म र काला, गोरा प्रणालीलाई महत्तव नदिएर एकै जात महिला र पुरुष भनी शिक्षा प्रणाली अगाडि बढाऔं ।

आज पनि यो समाज पीडितलाई साथ नदिएर चल्तापुर्जाकै पछाडी लागेका छन् र सामन्ती बुर्जुवाहरुकै मलजल गरेको छर्लंग भैरहेको छ । जनयुद्धका बेला दलितलाई प्रयोग गरेर सत्ता हातमा लिन्छ अनि दलितको पीडा र आवाज बिर्सिन्छ, कति दिन दलितलाई अगाडि बढ्ने हो र अपचिरित हुने हो ? नेपालमा तेश्रो महाभूकम्प आयो, कोरोनाको त्रास विश्वव्यापी फैलियो, तरपनि हामी जातजातिकै पछाडी छौं ।

हामी देश जनता एक भएर किन केही नयाँ गर्नेतर्फ सोच्दैनौं, जुन विश्वको लागि उदाहरणीय होस् ।

सानासाना कुरामा हामी किन पछाडी लागेको छौं ? जुन कुराको न तर्क छ न अर्थ नै । मुलुकी ऐन मात्रै लागू गराएर कागजमा मात्रै केन्द्रित नहोऔं, सत्य तथ्य घटनालाई नलुकाई आफन्त पैसा र पावरको भरमा समाज नचलाऔं । अब फेरि भेरीको कथा हामीले कसरी अन्त्य गर्दछौं ? यो युवा पुस्ताबाटै जागरूक हुँदै आआफ्नै घरमा वा आमा र इष्टमित्रबाटै परिवर्तन गरेर समाजलाई नयाँ गती दिऔं र कैयौं नवराजलाई समाजको अग्रसर र परिवर्तनको मूल रुपमा लिएनौं भने हामी हाम्रो समाजमा ब्यर्थ जन्म लिएको हुनेछ ।

हामी र हाम्रो समाजमा हरेक व्यक्तिले केही न केही नयाँ कुराको विकास र पालनालाई अग्रसर गरौं । जातजातिलाई निर्दय र निर्मम आँखाले हेर्ने बानीमा सुधार राखेनौं भने जातीय साम्प्रादिक हिंसा निम्तिने निश्चित छ । हाम्रो चेतनालाई फराकिलो बनाऔं, प्रयोगात्मक उद्देश्यका साथ नयाँ नयाँ प्रणालीलाई अगाडि लिइ विश्वमा नाम फैलाऔं ।

आजको नयाँ पिँढीले हामी र हाम्रो राष्ट्रको लागि पटक पटक सोचोस्, जुन अबको लागि महत्वपूर्ण विषय हुनेछ ।

हामीलाई हाम्रो देशको विकास र चिन्तन गर्ने बानीलाई सार्थक बनाउनुपर्ने छ । घरभित्र कुकुरलाई बरु प्रवेश सजिलै हुन्छ । तर मानिसलाई नै दलितको दर्जा दिएर प्रवेश निषेध गरिन्छ, के यही हो हाम्रो समाज अनि नयाँ नेपाल ?

अबको हाम्रो देश र समाजमा दलितलाई गरिने विभेद मेटाएरै अगाडि बढ्न सकियोस् र समाजलेनै अग्रपंतिमा रही फूलमाला र छोरीचेली दिने दिन चाँडै आओस् ।

अन्तरजातीय विवाह मनपर्छ तर छिमेकीको मात्र भन्ने कुरा आफ्नो र आफैँबाट परीवर्तन गरौं । शुभकामना हामी र हाम्रो राष्ट्रलाई ।

–आश्मा लुइटेल

प्रकाशित मितीः १७ असार २०७७, काठमाडौं

प्रतिक्रिया दिनुहोस्