
१२ असार २०७७, काठमाडौं
कोभिड १९ को कारण कला साहित्यको क्षेत्रमा रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षणख पत्र बुझाएको छ ।
नेपाली रङ्गमञ्च सदैव अभिभावकत्वविहिन अवस्थाबाट गुज्रिरहेको सन्दर्भ केलाउँदै प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित नेपाल भरका नाटक घरसहितका नाट्य संस्थाहरुको अगुवाईमा ९ बुँदे मागसहित संयुक्त ध्यानाकर्षण पत्र उपकुलपति हरिहर शर्मा समक्ष बुझाइएको हो ।
ध्यानाकर्षण पत्रमा कोरोना महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरुले नेपाली रङ्गमञ्चको प्राप्ति जोगाउन अनेकन प्रयासहरु गरिरहेक पनि सरकारको कानूनी रुपमै गठन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वेवास्ता गरेको गुनासो समेत गरिएको छ ।
वर्तमान समयमा रङ्गकर्मीहरु संकटबाट गुज्रिरहेकोले पलायन हुने अवस्थामा समेत पुग्दै गरेको उल्लेख गर्दै तत्काल यसतर्फ सचेत हुन प्रतिष्ठानलाई रङ्गकर्मीहरुले आग्रह गरेका छन् ।
नेपालभरका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरको रङ्गकर्मीहरुको तथ्यांक राख्न, स्वतन्त्र रङ्गकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रङ्कर्मप्रति सम्बोधन गर्न पहल गर्न, स्थानीय तहसम्म रङ्गमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपकुलपति हरिहर शर्माले आफ्नो समयदेखि नै नेपाली रङ्गमञ्चले यस्ता विविध समस्या भोग्दै आएपनि अहिलेसम्म समस्या समाधान र सम्बोधन हुन नसकेको स्वीकार्दै ध्यानकर्षण पत्रको स्वागत गरेका छन् । उनले कोभिड–१९ महामारीबाट रङ्गकर्मीहरु निकै प्रभावित भएको भन्दै यसको समाधानको उपाय खोजी भइरहेको जनाए । ध्यानाकर्षण पत्रका बुँदाहरु अध्ययन गरी पहलको थालनी गर्ने समेत आश्वासन दिएका छन् ।
ध्यानाकर्षण पत्र बुझाउन थिएटर हबको संयोजनमा देशभरका सक्रिय नाट्य संस्थाहरुको सहभागीता र समर्थनमा काठमाडौंमा रहेका नाटक घरसहितको नाट्य संस्थाका प्रतिनिधि तथा स्वतन्त्र रङ्गकर्मीहरु बिहिबार प्रतिष्ठान पुगेका थिए ।





