
१२ असार २०७७, काठमाडौं
खल्ती मोबाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन शुरू गरेको छ ।
खल्तीले सिटी एक्सप्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मोबाइल वालेटमा सिधै रेमिट्यान्स भित्र्याउन थालेको हो ।
खल्तीले यी दुइ मुलुकबाट मोबाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्नो परिचय पत्र लिएर रेमिट्यान्स कम्पनीको एजेन्ट कहाँ रकम झिक्न धाउनु पर्ने झन्झट अन्त्य भएको छ ।
जापानमा रहेका नेपालीले सिटी एक्सप्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्ट कहाँ गएर सिधैं नेपालमा आफन्तको खल्ती मेबाइल खातामा सिधै रकम पठाउन सक्ने छन् । उता कोरियाबाट भने रकम पठाउन चाहनेले मोबाइल एपबाटै ट्रान्सफर गर्न सक्नेछन् । त्यहाँ रहेका नेपालीले जि मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् ।
सिटिका जापानमा टेकियो सिन्जुकु–कु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन् । यस्तै जि रेमिटको केरियामा सोल, ख्यङ्गी–दो र ख्यङसाङनाम–दोमा शाखाहरू रहेका छन् ।
सिटी एक्सप्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिट्यान्स भित्र्याई रहेकामा जापान र कोरियाबाट भने आफ्नै कम्पनीबाट खल्ती मार्फत रेमिट्यान्स भित्र्याउन थालेको जानकारी दिएका छन् । ‘विश्वभर लकडाउनले घर बाहिर निस्कन नसकिरहेको अवस्थामा मोबाइलबाटै खल्तीमा रेमिट्यान्स पठाउन सकिने ब्यवस्थाले विदेशमा रहेका नेपालीलाइ धेरै सहज भएको छ’, उनले भने, ‘बिस्तारै अन्य मुलुकबाट पनि मोवाइल वालेटमै रेमिट्यान्स भित्र्याउने ब्यवस्था गर्न लागेका छौं ।’
खल्तीका निर्देशक अमित अग्रवाल जापान र कोरियाबाट डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुबैलाइ निकै सहज हुने बताउँछन् । ‘मोबाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्ट कहाँ धाउनुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यसले गर्दा असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने अवस्था थियो । अब मोबाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनुका साथै फजुल खर्च हुने सम्भावना हुँदैन । तुरून्तै रकम प्राप्त हुने भएकाले लकडाउनका बेला समेत गर्जाे टार्न सजिलो हुनेछ ।’
खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।





