बाँकेका नयाँ एसपी ओमबहादुर रानाको १७ बुँदे कार्य योजना



११ असार २०७७, बाँके/गजेन्द्र गुरुङ

जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यालय प्रमुखको रुपमा भर्खरै सरुवा भइ आएका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना अगाडि सारेका छन । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको पत्रकार परिचय र भेटघाट कार्यक्रममा एसपी रानाले आफ्ना मुख्य १७ बुँदे कार्ययोजना अगाडि सारेका हुन ।

हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाह गर्ने काम उनको कार्य योजनाको पहिलो बुँदामा समेटिएको छ ।

उनले आफ्ना कार्ययोजना प्रस्तुत गर्दै आपराधिक क्रियाकलापउपर कानुनी कठोरता आत्मसात गर्दै बिबेकपूर्ण प्रहार गरिने जनाए । यो जिल्लासँग भारतसँगको खुल्ला सिमा नाका जोडिएको हुँदा हुनसक्ने सिमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रण गरिने बताए ।

एसपी रानाले घरेलुु मदिरा, यौन व्यवसाय, जुवातास, चोरी, लुटपाट, कालोबजारी नियन्त्रण, संगठित अपराध तथा गुण्डागर्दी, प्राकृतिक श्रोतको दोहन गर्ने, लागू औषध दुर्व्यसनी तथा ओसार पसार कारोवार गर्ने जो कोहीलाई पनि नछाड्ने चेतावनी दिएका छन ।

मानव अधिकारको संरक्षण सम्बर्द्धन, सामाजिक, धार्मिक भेगियताको बिबिधताको सुन्दर पक्षलाई जोगाउँदै भाइचाराको सम्बन्ध कायम राख्नेदेखि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रणमा प्रभावकारी व्यवस्थापन गरिने उनले बताए ।

जिल्लामा जो कोही नयाँ प्रहरी प्रमुख आउँदा प्रस्तुत गर्ने कार्ययोजनाभन्दा फरक ढंगले राना प्रस्तुत भएका छन ।

पहिला–पहिला आउने नयाँ प्रहरी प्रमुखले आफ्नो मुख्य प्राथमिकतामा पहिलो नम्बरमा गुण्डागर्दी, जुवातास, लागूऔषध, प्राकृतिक साधनको दोहन, दुर्घटना जस्ता कुराहरु निस्तेज पार्ने खालका बिषयवस्तु राख्ने गर्दथे ।

तर, एसपी रानाको मुख्य प्राथमिकतामा जनतालाई सहज र सरल रुपले सेवा प्रदान गर्ने बिषय समेटिएको छ । त्यसपछि मात्र ती बिषयहरु समेटिएका छन । उनको पहिलो बुँदामा ‘हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवाहमा जोड’ उल्लेख गरिएको छ ।

यसले प्रहरीको ‘प्रहरी मेरो साथी’ र ‘मुस्कानसहितको प्रहरी सेवा’ भन्ने नारालाई आत्मसात गरेको देखिन्छ र प्रहरी संगठन भित्रका केही लोभीपापीहरुको कारणले बेला बेलामा बदनाम हुने क्रियाकलापलाई पनि रोक्न मद्दत पुग्ने देखिन्छ ।

एसपी रानाले आफ्ना पुराना दिन स्मरण गर्दै पत्रकारिताका बिषयमा आफू पनि जानकार रहेको बताए । उनले आफू प्रहरी सेवामा आउनुभन्दा पहिला पत्रकारीता पेशामै आवद्ध रहेको जानकारी दिए ।

‘म प्रहरी सेवामा आउनुभन्दा अगाडि पत्रकारिता पेशासँग आवद्ध थिएँ, २–४ जना साथीभाई मिलेर हामीले कास्कीको पोखराबाट नयाँ जागरण साप्ताहिक र जनजाति मञ्च नामक पत्रिका संचालन गरेका थियौं’ उनले भने, ‘त्यसकारण पत्रकार र पत्रकारिता पेशासँगको मेरो सम्बन्ध अति निकट र अत्मियता छ ।’

यसले एसपी राना जनसेवक, मिडिया र सूचनामैत्री छन भन्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्