चौरजहारी नगरपालिकाद्वारा जनप्रतिनिधिले पाउने सबै भत्ता खारेज : जनप्रतिनिधि दु:खी जनता खुशी



११ असार २०७७, काठमाडौं

रुकुम पश्चिम चौरजहारी नगरपालिकाद्वारा जनप्रतिनिधिले पाउने सबै प्रकारका भत्ता नीतिगत रुपमै खारेज गरिएको छ ।

नगरपालिकाका प्रमुख विशाल शर्माले उक्त निर्णय सार्वजनिक गरेसँगै आंशिक जनप्रतिनिधिहरुले बिरोध जनाएता पनि बहुमत जनप्रतिनिधिले समर्थन जनाएको नगरप्रमुख शर्माले जानकारी दिएका छन् । चौरजहारी नगरपालिकामा १४ वडा रहेका छन् ।

देशै भरिका पालिकाहरुका प्रायजसो सबै जनप्रतिनिधीहरुले भत्ता लिईनै राखेका बेला चौरजहारी नगरले यो निर्णय सार्वजनिक गरेर सकारात्मक सन्देश प्रवाह गरेको छ । नगरपालिकाको यस्तो निर्णय यो आर्थिक बर्षमा मात्र नभएर ३ बर्षकै भत्ता आफूहरुले नलिएको प्रमुख शर्मा बताउँछन् । काटिएको भत्ता केमा खर्च गरियो ? भन्ने प्रश्नको जवाफ दिदैं उनले भने, “पहिलो बर्षको भत्ताले जनस्वास्थ्यसँग जोडिएको अत्यावश्यक एम्बुलेन्स किन्यौ । दोस्रो बर्षको भत्ताले नगरपालिकामा आफ्नै नगर बस किन्यौ । अनि यस आर्थिक बर्षको भत्ताले कोभिड १९ अर्थात कोरोना भाईरसको महामारी बढि राखेका कारण विशेष गरि शिक्षा र  स्वास्थ्यमा हालेका छौं ।”

अबका दिनदेखि भने कसैले औंला नै उठाउन नपाउने गरि नीतिगत रुपमै भत्ता कुनैपनि जनप्रतिनिधीले लिन नपाउने व्यवस्था समेत लागू गरेको नगरप्रमुख शर्मा थप्छन् ।

प्रमुख शर्माको यो निर्णयसँगै केही जनप्रतिनिधिहरुले भने बिरोध जनाएका छन । जनताको काम त गर्ने हो तर भत्ता नै नआएर कसरी काम गर्ने भन्दै आक्रोश पोख्दै गरेका जनप्रतिनिधिलाई सम्झाउँदै प्रमुख शर्माले भने, “हामी जनताको सेवा गर्न जनप्रतिनिधी भएका हौं । सामान्य घर खर्च र व्यवहार टार्न तलब नै काफी छ । हिजो हामीले पार्टीको काम गर्दा भत्ता त के तलब समेत कल्ले दिन्थ्यो र त्यसमाथि अझ हामी त जनताको सेवा गर्ने भनी कसम खाएको, हामीले भुलेका छैनौं तपाईहरु यो कुरा मनन् गर्नुस् ।”

चौरजहारी वडा नं ३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकीले आफूहरु प्रमुख शर्माको निर्णय बाट खुशी रहेको र उहाँको निर्देशन बमोजिम नै आफूहरु जनताको सेवामा समर्पित भएर कामकाजमा खटिरहेको बताएका छन् । नगरप्रमुखको कामबाट केही जनप्रतिनिधी दु:खी भएपनि जनता खुशी भएका छन् हामी त्यसैमा खुशी छौं–उनले थपे ।

रुकुम पश्चिमका अन्य स्थानीय तहमा भने भत्ताका बिषयमा सबै पालिकाले लिईनै राखेको बुझ्नमा आएको छ । यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमका अध्यक्ष तथा प्रदेश सांसद गोपाल शर्मा (अनल)का अनुसार रुकुमका सबै पालिकामा यो नियम लागूहुने र लागू गराउन पार्टीले पनि पहल गरिरहेको बताएका छन् । यद्धपी उनलाई रुकुम पश्चिममा पूर्वमन्त्री जनार्दन शर्मापछिका आशालाग्दा नेताका रुपमा लिईदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्