
१० असार २०७७, काठमाडौं
यतिबेला सामाजिक सञ्जालमा एक प्रहरीले चितवालाई दाम्लोले बाँधेर सडकमा हिँडाएको भिडियो चर्चामा छ । दाम्लोमा बाँधेर चितुवालाई डोर्याउदै हिड्ने प्रहरी हुन अस्थायी ट्राफिक प्रहरी पोस्ट मिलन चोकका प्रहरी जवान अनिल कार्की । दृश्यमा खसीबोका वा घरपालुवा कुकुरलाई डुलाएजस्तो दाम्लोमा बाँधिएको चितुवा लुरुलुरु हिँडिरहेको छ भने फोटो खिच्न र रमाइलोको लागि मान्छेको भीड लागेको छ ।
तनहुँका विभिन्न भागका बासिन्दा चितुवाबाट आजित छन् । तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मानिसहरुले ज्यान गुमाएका समाचारहरु आएका छन् । यस्तो जनावरलाई खसीबोका जसरी दाम्लोमा बाँधेर मानिसहरुले लुरुलुरु हिँडाएको भिडियो भाइरल हुनु स्वभाविक देखिन्छ ।
सोमबार अपरान्ह साढे ४ बजेतिर पर्वतको जलजला गाउँपालिका–७ मिलन चोक नजिकैको कालीगण्डकीको बगरमा स्थानीयले घाँस काट्न जाने क्रममा चितुवा देखेका थिए ।
स्थानीयले उक्त चितुवालाई सुरुमा लखेट्न खोजे तर, कुनै प्रतिक्रिया नजनाएपछि सबै मिलेर नाम्लोको पासो थापे । कमजोर र बिरामीजस्तो देखिने चितुवाले प्रतिकार गरेन । त्यसपछि दाम्लोले बाँधियो । प्रहरी र स्थानीयले भेटिएको बगरबाट हिँडाएर मूल बाटोसम्म ल्याए । भाइरल भएका फोटो र भिडियो त्यही बेलाको हो ।
जिल्ला प्रहरी र वन कार्यालयलाई स्थानीय प्रहरीले खबर गरेपछि सहायक वन अधिकृतलाई पठाएर चितुवालाई केजमा हालेर कार्यालयमा ल्याइएको छ ।





