भारतीय प्रधानमन्त्री मोदीको यस्तो अभिव्यक्तिले उनलाई तान्यो विवादमा, भारतियहरु नै यसरी खनिए



०७ असार २०७७, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमा विवादका विषयमा दिएको अभिव्यक्ति विवादास्पद भएपछि भारतीय प्रधानमन्त्रीको कार्यालयले स्पष्टीकरण दिनुपरेको छ । प्रधानमन्त्री कार्यालयले मोदीको भनाईलाई गलत अर्थ लगाएर अनावश्यक विवाद उत्पन्न गर्न खोजिएको आरोप लगाएको छ ।

प्रधानमन्त्री मोदीले शुक्रबारको सर्वदलीय बैठकमा लद्दाखस्थित (गल्वान)भारततर्फको सीमाभित्र ‘न कसैको प्रवेश भएको छ, न कसैले हाम्रा पोष्टहरु कब्जा गरेका छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिलाई लिएर भारतीय राजनीतिक वृत्तमा विपक्षीहरुले मोदीको कडा आलोचना गरिरहेका छन् । मोदीको अभिव्यक्तिले चीनलाई सपोर्ट गर्दै आत्मसमर्पण गरेको भन्ने अर्थ समेत विपक्षीहरुले लगाएका छन् ।

विपक्षी नेताहरुले सोधेका छन्– ‘यदि प्रधानमन्त्रीको कुरालाई सही मान्ने हो र भारतीय सीमानामा चिनियाँ सैनिक आएका थिएनन् भने झगडा किन भयो ? २० सैनिक शहिद किन भए ? दुई देशबीचको के कुराकानी भैरहेको थियो ?’
‘त्यसो हो भने १० जनालाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको त ?’

प्रधानमन्त्री मोदीले शुक्रबार लद्दाख झडप (गल्वान)को विषयमा केन्द्रीत रहँदै सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा अलग अलग पार्टीका नेताहरु अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए । उनले भारतले शान्ति र मित्रता चाहने तर सार्वभौमिकताका विषयमा सम्झौता नगर्ने बताएका थिए ।

जुन १५ मा लद्दाखस्थित गल्वान उपत्यकामा दुई देशका सैनिकबीच भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना मारिएका थिए । चिनियाँ सेनातर्फको क्षति विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्