‘सुरक्षा स्वार्थ जोडिएका सहयोग लिदैनौँ’ : नेकपा अध्यक्ष प्रचण्ड



०६ असार २०७७, काठमाडौं

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा स्वार्थ जोडिएका कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने बताएका छन्। सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने उनको भनाइ छ।

‘संविधानसँग बाझिने गरी कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने र त्यस्तो अर्थ दिने विदेशी सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन’, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र नेपाल कम्युनिस्ट पार्टीको स्कुलिङ विभागले शुक्रबार आयोजना गरेको संयुक्त भर्चुअल कार्यशाला गोष्ठीलाई पार्टी कार्यालय धुम्बाराहीबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले भने, ‘नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्र राष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौं ।’

एमसीसी सम्झौताले नेकपाभित्र विवाद बढिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको कार्यशाला गोष्ठीमा प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो । उक्त सम्झौता सदनबाट पारित गर्ने÷नगर्नेमा सत्तारुढ दल नेकपाभित्र विवाद छ । उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको अन्तरक्रियामा एमसीसीको विषय उल्लेख नगरे पनि सांकेतिक रूपमा सुरक्षा स्वार्थ जोडिएका सहयोग स्वीकार्य नहुने बताएका हुन् ।

उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुलाई दिएको त्यस्तो अभिव्यक्ति अर्थपूर्ण देखिएको छ । उनले सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको पनि बताएका थिए । ‘हामी कुनै पनि मित्र राष्ट्रसँगको द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौं । तर, सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै वार्ता र संवाद हुन्छ’, उनले भने । उनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको पनि बताए । हङकङ, तिब्बत, सिन्जियाङ मामिलामा नेपालले चीनलाई साथ दिएको उनको भनाइ थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्