सत्तारुढ दल आवद्ध विद्यार्थी नेताहरुद्वारा गाउँपालिका कार्यालय अगाडी प्रदर्शन



०३ असार २०७७, बिरगंज

पर्साको बिन्दवासिनी गाउँपालिकामा अनेरास्ववियूका विद्यार्थी नेताहरुले गाउँपालिकाको बिरोधमा प्रदर्शन गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन आवद्ध बिन्दवासिनीका नेता कार्यकर्ताहरुले गाउँपालिकाको बिरोधमा बुधवार प्रदर्शन गरेका हुन् ।

अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहको नेतृत्वमा गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरवाही गरेको भन्दै बिरोध प्रदर्शन गरिएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरवाही गर्दै अब्यवस्थित क्वारेन्टाईन, स्वास्थ्य सामाग्रीको अभाव, जनतालाई सास्ती लगायतका बाबजुद जनप्रतिनिधिहरुको बिलासीमा रमाईरहेको भन्दै विद्यार्थी नेताहरुले दवाव स्वरुप ध्यानाकर्षण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरु यस्तो विषम परिस्थितीमा पनि भ्रष्टाचार र बिलासितामा रमाएर जनताको समस्याहरुको सुनुवाई नगरेको त्यहाँका स्थानीयको गुनासो छ । कृषकहरुको समस्यालाई सम्बोधन नगरेर गाउँपालिकाकी उपाध्यक्ष महिनामा ४/५ पटक कार्यालय आएपनि मासिक रुपमा १ लाख सवारी खर्च उठाएको भन्दै विद्यार्थी नेताहरुले आपत्ति जनाएका हुन् ।

अनेरास्ववियुका विद्यार्थी नेताहरुले गाउँपालिकाको तथ्यांक पारदर्शी गर, भ्रष्ट उप–प्रमुखलाई कारवाही गर, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद लगायतका नारा अंकित प्ले कार्ड सहित नाराबाजी गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले स्वयम् आफूले मासिक रुपमा १ लाख सवारी खर्च लिएको स्वीकार गरेका छन् । आन्दोलनको क्रममा विद्यार्थी नेताहरुले गाउँपालिकाको तथ्यांक पारदर्शी गर्न १ हप्ते अल्टिमेटम समेत दिएको आन्दोलनका नेतृत्व गरीरहेका अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम साहले बताए ।

साथै एक हप्ता भित्र स्पष्टिकरण नदिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि उनले बताए । आन्दोलनमा कल्सरिफ गद्धी, सुधिर कुमार पण्डित, रामबाबु मण्डल लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्