बेड रेस्टमा रहेका सांसद गजुरेललाई कुन स्वार्थले भारतीय दलाल बनायौँ ? (भिडियो सहित)



३१ जेठ २०७७, काठमाडौं

राष्ट्रिय सहमतिका साथ पहिलोपटक नेपालको हिमाल, पहाड, तराई वा मधेशको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एकै ठाउँ उभिएर नेपालको संसदबाट संविधान संशोधन गर्दै लिम्पियाधुरा समेत समेटिएको नेपाली नक्सालाई निशान छापामा सर्वसम्मत रुपमा पारित गरे ।

संसदमा उपस्थित भएका सबै सांसदहरुले निशान छापको पक्षमा मतदान गरे भने केहि सांसदहरु मतदानमा सहभागी भएनन् । त्यसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सिन्धुली–२ का संघीय सांसद हरिबोल गजुरेलको नाम समेत अनुपस्थित लिष्टमा देखियो ।

धेरैलाई अचम्म लाग्यो काठमाडौंमै रहेका सांसद गजुरेल किन मतदानमा सहभागी भएनन् ? त्यहि आशंकाको बीचमा नेकपाका केहि कार्यकर्ताहरु सामाजिक संजाल फेसबुकमा सांसद गजुरेललाई भारतीय ईशारामा मतदानमा सहभागी नभएको आरोप लगाउन थाले ।

आशंका बीचमै नेकपाका कार्यकर्ताद्वारा संचालित केहि संचारमाध्यमले भारतीय ईशारामा नेता गजुरेल मतदानमा सहभागी नभएको लेख्न थाले । हिजो राति करिब १० बजेतिर गजुरेलको सचिवालयको नाममा सम्प्रेषित एउटा सन्देशले स्वास्थ्य प्रतिकूलताको कारण संसदमा उपस्थित हुन नसकेको प्रष्ट्यायो ।

घरमै आराम गरिरहेका सांसद गजुरेलको भिडियो : 

सिन्धुलीका पत्रकार र लेखकको फेसबुक म्यासेज ग्रुपमा सांसद सचिवालयले पठाएको भनिएको सन्देशमै आशंका देखिएपछि केहि साथीहरु भोलि बिहान भेटेरै कुराकानी गर्ने तय गरियो । संचारकर्मी डण्ड गुरुङको समन्वयमा हामी आज दिउँसो १२ः३० बजे सांसदलाई भेटेरै कुरा गर्ने तय गर्‍यौं । फेसबुकमा चर्का कुरा गर्ने धेरै साथीहरु छलफलमा सहभागी हुनु भएन ।

साथी डण्ड गुरुङ सहित परिवर्तन खबरको टिम सांसद हरिबोल गजुरेल बस्ने कालोपुलस्थित डेरामा पुग्यौँ । पहिलोपटक गजुरेल बसाईमा पुगेका हामी केहि समय कुरेपछि एैया–एैया गर्दै सांसद गजुरेल हामी बसेको कोठामा आउनुभयो । पहिलोपटकको दृश्यमै उहाँको वास्तविकता र मिडियाको हल्लाले मलाई दुःखी बनायो ।

कुराकानीको सन्दर्भमा थाहा भयो, “सिन्धुलीमा टेक्निकल विश्वविद्यालय स्थापनाको मुख्य उद्देश्य लिएर बागमती प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री सँगको छलफलपछि आफ्नै स्वकीय सचिवको ससुरालीमा बस्नेगरी पाहुना लाग्न राती सांसद गजुरेल उतै लाग्नुभयो । खाना खाएर चुठ्न जाँदा चिप्लिएर ट्वाईलेट छेउमा नराम्ररी लड्नुभयो । चिप्लोमा लड्नुभएका गजुरेललाई बसेर आउने अवस्था भएन । गएकै गाडीमा सिट लडाएर सुत्ने व्यवस्था मिलाई काठमाडौं फर्कनुभएका गजुरेल आफ्नै डाक्टर छोरीको सेवा र सल्लाहमा घरमा आराम गरिरहनु भएको देखियो ।”

अवसर ऐतिहासिक थियो तर पार्टी संसदीय दलको मुख्य सचेतक देव गुरुङलाई फोनमा कुरा गर्दा राष्ट्रिय सहमति जुटिसकेको अवस्थामा संसद्मै आएर मतदान गर्नुपर्ने अवस्था नरहेकोले घरमै सुतेर आराम गर्ने सल्लाह दिनुभयो । हाम्रो प्रश्नमा सांसद गजुरेलले भन्नुभयो,“ऐतिहासिक अवसरमा सहभागी हुने दृढ ईच्छा हुँदाहुँदै प्रमुख सचेतकलाई जानकारी गराई उहाँकै सल्लाहमा आराम गरिरहेको अवस्थामा मेरो आजसम्मको राजनीतिक निष्ठामा दाग लगाउने उद्देश्यले प्रकाशित भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियालाई कारवाही गर्ने उद्देश्यले कानुनी प्रक्रिया थालिएको समेत बताउनुभयो ।”

पछिल्लो समयमा मुलुकभर थेग्नै नसक्ने किसिमले डिजिटल संचारमाध्यमहरु स्थापना भईरहेका छन् । धेरै संचारमाध्यमको स्थापनाले सूचनामा पँहुच बृिद्ध गरेसँगै पत्रकारिताको विश्वसनीयता माथि समेत प्रश्न उठ्न थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय नेतृत्व भित्र एक आदर्श नेताको रुपमा परिचित नेता गजुरेलको वास्तविकता नबुझी एकतर्फी ढंगले सम्प्रेषित समाचारले पत्रकारिताको विश्वसनियतामा कमी आउनुको साथै नेतृत्वको निष्ठामा धक्का लाग्ने देखिन्छ ।

अझ नेकपाको विचार र नेतृत्वलाई सहयोग गर्ने चिन्तन बोकेको बताउने आफ्नै साथीले निर्दोष नेतालाई नै बद्नाम गर्ने दुश्प्रयत्न किन रचे ? पार्टी भित्रै समेत सही र गलत छुट्याउने चेतना नभएका पत्रकार साथीहरु रहुन्जेलसम्म न पार्टीको सुदृढीकरण सम्भव देखिन्छ न संचार क्षेत्रकै ! त्यसैले भविष्यमा यस किसिमका भ्रामक समाचारको प्रशारण तथा प्रकाशनमा कम्तिमा पनि हाम्रा साथीहरुले ध्यान दिनु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्