काेराेना संक्रमितहरु सडकमा निस्किन थालेपछि बर्सियो प्रहरीको लाठी



३२ जेठ २०७७, काठमाडौँ

कर्णालीमा कोरोना संक्रमितको व्यवस्थापनमा गम्भिर चुनौती देखिएको छ । संक्रमितहरु आइसोलेसन र क्वारेन्टाइन छाडेर सडकमा निस्कन थालेका छन् । यहीक्रममा प्रहरीले दैलेखमा संक्रमितमाथि लाठी बर्साएको हो । सडकमा निस्किएकाहरुलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दा चारजना संक्रमित घाइते भएका छन् ।

दैलेखमा संक्रमितको संख्या धेरै भएपछि व्यवस्थापनमा सकस भएको छ। आफूहरुको व्यवस्थापनमा लापरबाही भएको, उपचार तथा परीक्षणमा ढिलाइ गरिएको र आइसोलेसनको नाममा क्वारेन्टाइनमै थुन्ने काम भएको भन्दै संक्रमितहरु आन्दोलित भएका छन् । विभिन्न माग राख्दै शनिवार नारायण नगरपालिकास्थित त्रिभुवन माविको क्वारेन्टाइनमा राखिएका संक्रमितहरु सडकमै निस्किए । प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नारायण नगरपालिकाका विभिन्न वडाका कोरोना संक्रमितहरुलाई त्यही विद्यालयमा राखिएको छ । वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठका अनुसार २९ जना संक्रमितसहित ४३ जनालाई सँगै राखिएको छ । उनीहरु ३२ दिनसम्म क्वारेन्टाइनमा बस्दा पनि रिपोर्ट नआएको र घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गमा रहेको आइसोलेसन वार्डमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आन्दोलनमा उत्रिएका कोरोना संक्रमितका आफन्तले भने जनप्रतिनीधिहरुले नै लाठीचार्ज गर्न लगाएको बताएका छन् ।

‘मेरै अगाडी प्रहरीले मेरो छोरालाई कुटे, घरबाट ल्याएको सामान नै छोरालाई दिन पाइँन’ स्थानीय सुर्यप्रसाद रेग्मीले भने, ‘परीक्षण समयमै नगर्ने, स्कुलमै थुनेर कहिलेसम्म राख्ने हो ? राम्रो उपचार र रिपोर्ट छिटो निकाल्नु पर्‍यो भन्दा संक्रमितलाई नै निर्मम तरिकाले कुट्ने काम गरिएको छ, यो राज्यकै असफलता हो ।’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले भने अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरिएको बताए ।

उनले भने ‘संक्रमितहरु बजारमै निस्केर आन्दोलन गर्न थालेपछि थप संक्रमणको जोखिम भयो, हामीले सडकमा नआउन भनी सम्झाउँदा नमानेपछि दोहोरो झडप भएको हो ।’ उक्त समाचार र फाेटाे आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्