कस्तो अचम्म ! ठगीको अभियोगमा १,१४६ वर्ष जेल सजाय



३१ जेठ २०७७, काठमाडौं

थाईल्यान्डको एक अदालतले मानिसहरूलाई ठगीको आरोपमा दुईजना रेष्टुरेन्ट सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय सुनाएको छ। गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले अनलाइनमार्फत्‌ पहिल्यै भुक्तानी गर्नुपर्ने व्यवस्था शुरू गरेको थियो । थाईल्यान्डको पीबीसी च्यानलका अनुसार बीस हजार जति मानिसले पाँच करोड थाई भाट बराबरको भौचर खरिद गरेका थिए।

तर पछि कम्पनीले माग पूरा गर्न नसक्ने भन्दै रेष्टुराँ बन्द गरेको थियो । सयौँ मानिसले उजुरी गरेको आधारमा रेष्टुरेन्टका सञ्चालकद्वय अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परे। थाईल्यान्डमा उजुरीको सङ्ख्याका आधारमा ठगी गरेको प्रमाणित भएकाहरूलाई लामो जेल सजाय दिइनु सामान्य मानिन्छ ।

यद्यपी थाई कानुनले मानिसहरूलाई ठगी गरेको अभियोगमा २० वर्ष जेलसजाय तोकेको छ। लाएमगेट सीफूड रेष्टुराँले एउटा स्किम अनुसार ८८० भाटमा १० जनाका लागि सीफूड पाइने घोषणा गरेको थियो । यो सामान्य मूल्यभन्दा धेरै सस्तो थियो। शुरूमा भौचर किन्नेहरूले रेष्टुराँमा खानेकुरा पाए । तर धेरैले यो सुअवसरको उपभाग गर्न पाएनन् ।

मार्चसम्म आइपुग्दा लाएमगेट इन्फिनिट नामक कम्पनीले माग अनुसार सीफूड दिन नसकेको भन्दै रेष्टुराँ बन्द गर्ने घोषणा गरियो । कम्पनीले भौचर खरिद गरेका ग्राहकहरूलाई पैसा फिर्ता गर्ने प्रस्ताव गर्‍यो । ८१८ मध्ये उजुरी गरेका ३७५ जनाले रकम फिर्ता पाए। त्यसपछि ठगीको आरोपमा बाँकी सयौँले कम्पनी र त्यसका सहसञ्चालकहरूविरुद्ध उजुरी दिए।

फलस्वरुप गलत सन्देशमार्फत्‌ मानिसहरूलाई ठगेको आरोपमा अपीचार्ट बोवोर्नबन्चरक र प्रापासोर्न बोवोर्नबन्चरक पक्राउ परे। ७२३ जनालाई ठगेको अभियोगमा बुधवार उनीहरू दोषी ठहर भए र अदालतबाट जनही १,१४६ वर्ष जेलसजाय पाए। गल्ती स्वीकार गरेपछि उनीहरूको सजाय आधाले घटाएर ७२३ वर्ष पारियो।

तर उनीहरूले बढीमा २० वर्ष जेलसजाय काट्नुपर्ने हुन्छ। उनीहरूको कम्पनीलाई १८ लाख भाट जरिवाना तिर्न अदालतले आदेश दिएको छ र सहसञ्चालक तथा कम्पनीलाई क्षतिपूर्ति स्वरूप पीडितहरूलाई २५ लाख भाट तिर्न पनि आदेश गरिएको छ। सन् २०१७ मा एउटा थाई अदालतले ठगी गरेको अभियोगमा एक जनालाई १३ हजार वर्ष जेलसजाय सुनाएको बिबिसीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्