
३० जेठ २०७७, काठमाडौं
लकडाउनमा बन्द रहेको शेयर बजार सञ्चालन गर्न माग गर्दै सर्वोच्च अदालतमा सार्वजनीक सरोकारको रिट दर्ता भएको छ ।
अधिवक्ताद्वय हरिप्रसाद दाहाल र रपीश पोखरेलले शेयर बजार बन्दसँगै नागरिकको सम्पत्ति सम्बन्धी मौलिक हक कुण्ठित भएको भन्दै शेयर बजार सुचारु गर्न आवश्यक छ भन्दै रिट दर्ता गरेका हुन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, धितो पत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज सहितलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले यस सम्बन्धी रिटको सुनुवाईका लागी यही जेठ ३२ गतेका लागी पेशी तोकेको छ ।
रिटमा नागरिकले आफ्नो सम्पत्ति किनबेच गर्न पाउने हक समेत बजार बन्द गरिदा हनन् भएको तथा आफ्नो शेयरको मूल्यांकन समेत थाहा नहुँदा मौलिक हक कुण्ठित भएको जिकिर गरिएको छ । रिटमा कोभीड १९ को महामारीको विषम् परिस्थितीमा अदालतबाट उत्प्रेषण परमादेश तथा उपयुक्त आदेश पूर्जी जारी गरी दोस्रो बजार मार्फत कारोवार हुने धितोपत्र बजारको कारोवार डिजिटल तथा अनलाईन कारोबार नियमित गराई नेपाल स्टक एक्सचेन्जले धितो पत्र ब्रोकरहरुबाट अनलाइन खरिद बिक्री सेवा मार्फत धितो पत्र बजार खुला गराई सर्वसाधारण लगानी कर्ता नागरिकको बाँच्नका लागि नगद प्राप्त गर्ने मार्ग प्रशस्त गर्न विषेश माग गरेको छ ।
शेयर बजार बन्द हुदाँ नेपालको संविधान, धारा १६ सम्मानपूर्वक बाँच्न पाउँने हक, धारा १७ स्वतन्त्रताको हक, धारा २५ सम्पत्तिको हक, र धारा २७ सूचनाको हकको प्रतिकुल भएको जिकिर गरिएको छ । त्यसैगरी धितोपत्र सम्बन्धी ऐन २०६३, दफा ९० को प्रतिकुल रहेको जिकिर गरिएको छ ।





