यी शिक्षिकाको तलब १ करोड ६० लाख: एकैपटक २५ विद्यालयमा जागिर खाएको खुलासा !



२४ जेठ २०७७, काठमाडौं

कुनै एकजनाले कति ठाउँमा पढाउँलान ? दुई चार ठाउँसम्म सम्भव होला । तर भारतको उत्तर प्रदेशको शिक्षा विभाग अन्तरगतको कस्तुरबा गान्धी बालिका विद्यालयमा कार्यरत एक शिक्षिकाले १ करोड भारतीय रुपैयाँ अर्थात १ करोड ६० लाख नेपाली रुपैयाँ तलब बुझेकी छन् । उनले एकैसाथ २५ ठाउँमा काम गरेको भन्दै तलब पाएको खुलासा भएको छ ।

शिक्षा विभागले यो घटनाको छानविनका लागि समिति नै गठन गरेको छ । डाटावेस बनाएर तलबको लेखाजोखा गर्दा यस्तो रहस्य सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डाटाबेसमा ती शिक्षिकाले उत्तर प्रदेशका अमेठी, अम्बेडकरनगर, रायबरेली, प्रयागराज, अलीगढ र अन्य विभिन्न जिल्लाका २५ विद्यालयबाट लामो समयदेखि तलब बुझ्दै आएको पाइएको छ । उनले एकवर्षमै १ करोड ६० लाख भन्दा धेरै तलब बुझेको पाइएको छ ।

इन्डिया टुडेका अनुसार उत्तर प्रदेशका शिक्षामन्त्री डा. सतीश द्विवेदीले छानबिनबाट आउने सुझावका आधारमा ती शिक्षिकामाथि कठोर कदम चालिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्