संक्रमितका लागि ल्याउन लागिएको भेन्टिलेटर विदेशमै अड्कियो, यता आइसोलेसनमा नै मृत्यु



२० जेठ २०७७, काठमाडौं

कोरोना भाइरसको संक्रमित बिरामीका लागि ल्याउन लागिएकोे भेन्टिलेटर विदेशमा अड्किएको छ। नेपाल ल्याउन लागिएको भेन्टिलेटर अमेरिका, जापान र जर्मनीमा अड्किएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। संक्रमितको संख्या बढ्दा उनीहरूलाई राख्ने अस्पतालको आइसोलेसन र भेन्टिलेटरको अभाव खड्किएको छ।

जिल्ला अस्पतालमा बाजुरामा भेन्टिलेटर अभावमा आइतबार दुई वर्षीया बालिकाको आइसोलेसनमै मृत्यु भएको थियो। मुलुकमा कोरोना भाइरस संक्रमित केस भेटिएको चार महिना बितिसक्दा पनि आइसोलेसन र भेन्टिलेटरको जोहो गर्न मन्त्रालय असफल भएको छ।

मन्त्रालय स्रोतका अनुसार अहिले मुलुकभर कोरोना भाइरस संक्रमित बिरामीका लागि छुट्ट्याएको आइसोलेसनको बेड संख्या १ हजार ६ सय २४ छ। आईसीयू बेड संख्या ३ सय ९६ मात्र छ। आईसीयू र आइसोलेसन बेडको अभाव हुने देखिएपछि लक्षण नदेखिएका संक्रमितलाई होम क्वारेन्टाइनमा राख्ने योजना सरकारले लिएको छ।

सरकारले ५ हजार संक्रमित हुने अनुमान गर्दै आवश्यक सामग्री जोहो गर्ने तयारी गरे पनि अपुग हुने देखिएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्