भारतमा एसियाली मुलुककै सबैभन्दा बढी कोरोना संक्रमित, तर लकडाउन खुकुलो पारिंदै



१८ जेठ २०७७, काठमाडौं

एसियाली मुलुककै सबैभन्दा बढी कोरोना प्रभावित मुलक भारतमा लकडाउन खुकुलो पार्ने योजना अघि सारिएको छ । दैनिक जनजीवन सहज बनाउन लकडाउन केही खुकुलो पारिएको हो ।

भारतीय गृह मन्त्रालयले सोमबार जुन १ देखि जुन ३० सम्म लागू हुनेगरी पाँचौं पटक लकडाउनको समय थपेको छ ।

पाँचौं पटकको लकडाउनको निर्देशिकामा तीन चरण निर्धारण गरिएको छ । पहिलो चरणमा आगामी जुन ८ तारिखदेखि भारतमा विभिन्न क्षेत्रमा रेस्टुराँ, होटल, किनमेल केन्द्र तथा मठमन्दिर खुला गर्ने बताइएको छ।

त्यस्तै जुलाई महिनामा विद्यालय तथा कलेजहरूमा पठनपाठन सुरु गरिनेछ। तर अत्यधिक प्रभावित स्थानहरूमा भने लकडाउन कडा पारिने छ ।

रातको समयमा लगाइएको कर्फ्यूको समय घटाइएको छ । अन्तर्राष्ट्रिय उड़ान, मेट्रो रेलको सञ्चालन, सिनेमा हल, जिम, स्वीमिङ पुल, थिएटर, बार र सभा हल सुरक्षा सतर्कताका साथ खोल्न निर्णय पनि केन्द्र सरकारले लिन सक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्