विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय संयोजकमा डा.योगी



१७ जेठ २०७७,  काठमाडौं

विश्व हिन्दू महासङ्घ नेपालले डा.चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलका अध्यक्षतामा बसेको जुम प्रविधिको बैठकले विधानको परिच्छेद-७ को दफा २० उपदफा ‘ङ’ अनुसार सङ्गठनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्चात्य दुवै दर्शनका ज्ञान र विज्ञानका क्षेत्रमा विशिष्टता हासिल गर्नुभएका मूल्यमा आधारित शिक्षाका अभियानकर्मी योगीलाई सो जिम्मेवारी दिएको हो ।

विश्वव्यापीरुपमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएका विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कन चाहेकाले ल्याउने उचित प्रबन्ध गर्न पनि महासङ्घले माग गरेको महासचिव गणेशप्रसाद न्यौपानेले जानकारी दिए । नेपालीलाई मातृभूमि प्रवेश गरेपछि आधारभूत आवश्यकतासहितको क्वारेन्टिनमा राखी उपचारको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।

कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा दैनिक ज्याला गरी खाने एवं विपन्न वर्गका नागरिकलाई अप्ठ्यारो परेकाले जीवन निर्वाह गर्न सक्ने व्यवस्था गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ । कोरोनाका कारण विश्वव्यापीरुपमा जीवन गुमाएकाहरुका लागि आआफ्नो धर्म संस्कृतिअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सम्बन्धित देशका सरकारसँग आह्वान गरिएको उनले सुनाए । यही जेठ १० गते रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा भएको मानवीय क्षतिको घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्नुपर्ने महासङ्घको ठहर छ ।

नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले अतिक्रमण गरी सडकसमेत निर्माण गरेका विषयमा सरकारले सुगौली सन्धिअनुरुपको राष्ट्रको नक्सा तयार गरेकामा बैठकले धन्यवाद ज्ञापन गरेको छ । सो सम्बन्धमा तत्काल कूटनीतिक वार्ताको वातावरण बनाई नेपालको सम्प्रभूतालाई कायम गर्न महासङ्घले आह्वान गरेको छ ।

पूर्वजले हजारौँ वर्ष पहिले अर्थात् सृष्टिदेखि नै विकास गरेको आदिभाषा संस्कृतलाई विश्वका अन्य देशले समेत अध्यापन गराउन थालेकाले कक्षा १ देखि नै ऐच्छिक विषयका रुपमा पाठ्यक्रममा लागू गर्ने सरकारको योजनालाई सफल बनाउन भूमिका खेल्ने प्रतिबद्धता महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्