मानवताभन्दा पनि ठूलो हुन्छ र जातीयता ?



मानवताभन्दा पनि ठूलो हुन्छ र जातीयता ?

यहि जेष्ठ महिनाको १० गते साँझ घटेको जाजरकोट–रुकुम घटनाले अहिले आम मानव हृदय विक्षिप्त बनाएको छ । स्तब्ध छ, मानवीय माहोल जताततै । आङ नै सिरिङ्ग हुने भइरहेको छ । यो कस्तो दर्दनाक विभत्स दृष्य? सपना हो कि विपना ? कठै ! सपना भैदिए पनि त कति हुन्थ्यो । सदियौंदेखि हामीले भन्दै आएको मानवसभ्यता कता छ खोइ ? हेर्नलाई मन आतुर छ बेस्सरी ।

चौरजहारी ८, सोतीमा आफ्नी प्रेमिका लिन गएका नवराज बिक आफैँ घर फर्किन पाएनन् । उनी मात्रै होइन साथमा गएका १७ जना साथीहरू मध्ये ११ जना मात्रै जीवित छन्, त्यो पनि धेरै घाइते अवस्थामा, बाँकी ६ जनामा ५ जना मृतक फेला परिसके भने १ जना बेपत्ता छन अझै (सञ्चारमाध्यमको खबर अनुसार) । यस्तो विभत्स घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा पीडित परिवारले २० जना पीडकविरुद्ध किटानी जाहेरी दिएको र वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य भइरहेको खबर सार्वजनिक भएको छ । यहाँ अपराधी नछुटुन् र निरपराधी नफसुन् भनेर कामना गरौं ।

यही घटनाको प्रसङ्गलाई लिएर अहिले विभिन्न सामाजिक सञ्जालमा बहस तात्न थालेको छ । धेरैले आफ्नो विचार पस्कनुभएको छ । वास्तवमा अझै तात्नुपर्ने जसरी तात्न सकेको छैन बहस । अझै चर्काचर्की बहस हुन जरुरी छ । केही जिज्ञासाहरू असिना बनेर मेरो छातीमा पनि बर्सिरहेका छन् ।

के मान्छेभित्र मानवता हराएको हो ? के प्रेम गर्नु अपराध हो ? कुन कानूनले तोकेको छ प्रेम गर्ने उमेर ? साँच्चै त्यो प्रेम थियो कि इन्फेक्च्युएसन मात्रै थियो ? प्रेम त अमर हुन्छ भन्छ्न्, कसरी भेरीमा समापन भयो प्रेम ? के प्रेम बगाउनलाई भेरीको उत्पत्ती भएको हो ? मानवताभन्दा पनि ठूलो हुन्छ र जातीयता ?

उपल्लो भनिएको जातले दलित भनिएकी युवतीलाई बलात्कार गर्न हुने तर दलित युवकले उपल्लो जात भनिएकी युवतीसँग प्रेम गर्न नहुने कहाँ लेखिएको छ ? मैले प्रत्यक्ष घटना नियाल्न पाएको होइन । विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई आधार मानेर धारणा तय भएको हो । २१ वर्षको नवराज बिक र १७ वर्षकी शुस्मा ठकुरीको प्रेमले मृत्युवरण गर्दैगर्दा धेरै तर्क वितर्क आएका छन् । नेपालको कानूनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । शारीरिक र मानसिक रुपले सक्षम हुने उमेर भनिएको हो यो उमेर । सहमती या मञ्जुरीमा नै भए पनि १८ वर्ष मुनिका किशोरीलाई यौन कार्य गर्नु अपराध हो र यो बलात्कार हो भनेर हाम्रो मुलुकी अपराध संहिताले भनेको छ । यदि यो बलात्कार हो भने पनि दण्ड दिने कानुनी व्यवस्था विद्यमान छँदैथियो । फलामले टाउकामा हानेर भेरी पस्न बाध्य बनाइनु अनि भेरीमा पसिसकेपछि पनि दुबै किनारतिरबाट ढुङ्गाले प्रहार गर्नु सही सजाय हो भनेर कसरी भनौं ।

कानून भएको राज्यमा आक्रमण गर्नु, पिट्नु, कुट्नु, ढुङ्गा हान्नु, जस्ता सबै काम अपराधभित्र पर्दछन् भने यहाँ त जघन्य अपराध नै भएको छ । पीडक पक्षलाई हदैसम्मको सजाय भएन भने पीडितको आँसुले न्याय पाउँदैन र विक्षिप्त रहेका आम मानव हृदयलाई शीतलता पनि मिल्दैन । हाम्रो कानूनले विवाहको उमेर त तोक्यो तर प्रेम गर्ने उमेर कस्ले तोक्ने ? किशोरावस्थामा लागेका काउकुती, कौतुहलता, जिज्ञासा अनि विपरित लिङ्गिसङ्गको आकर्षण प्रकृतिप्रदत्त नै हुन् । यदि यी लक्षण देखिएनन् भने बरू चिन्ताको विषय हो । यस्तो समयमा किशोर किशोरी शिक्षा वा यौन शिक्षा जस्ता कुरा खुलेर प्रवाह गर्न नसक्दा यस्ता घटना घट्ने गर्दछन् । जुन कुराको उत्सुकता भदौरे भेल जस्तै उर्लिएर आउँछ त्यही कुरा जान्न बुझ्न वर्जित गरिएपछि मौका छोपेर कौतुहलता भेटाउन र मेटाउन किशोर किशोरी मरिहत्ते गर्छन् ।

यी चञ्चलता, कौतुहलता, उत्सुकता जस्ता विषय स्वभाविक हुन् र निश्चित उमेर भएपछि यस्तो प्रवृत्ति देखापर्नु भनेकै असल नारी या पुरुष हुने आधारस्तम्भ तयार हुनु हो भन्ने सत्य पाटो घरदेखि स्कूलसम्म नै लुकाइन्छ । किशोर किशोरीका हृदयभित्र छट्पटिएका यौवनका तरङ्गहरू सुन्न सक्ने नजिकका साथी बन्न सक्नुपर्दछ हरेक अभिभावक अनि शिक्षक । यी सबै कुरा खुलस्त बताइदिने हो भने र सीमा औंल्याइदिने हो भने प्रेम यौनमा गएर समाहित हुँदैन ।

यौन शिक्षालाई हाउगुजी बनाएर लुकाएर राख्दा प्रेम गर्नु भनेको यौन समागम नै हो भन्ने समेत बुझ्छन् कतिले । अरुको त के आश गर्नु स्वास्थ्य शिक्षा पढाउने शिक्षकले समेत यौनसम्बन्धी पाठ छ भने जम्प गरेर अर्कै पाठ पल्टाउँछन् । लुकेर किशोरीका यौनाङ्ग नियाल्दै स्खलित हुने तर यौन शिक्षा पढाउन नसक्ने कतिपय शिक्षकले आफनै विद्यार्थिलाई बलात्कार गरेका घटना त्यसै आएका होइनन् ।

घरमा त झन के कुरा गर्नु । सबैको घरमा फरक फरक कोठा नहुन सक्छ अनि मझेरीमा ओछ्यान् लाएर लाइनै सुत्दा बाआमाका गतिविधिले छोराछोरीको कलिलो मस्तिष्कमा कस्तो असर पर्छ भन्ने कसैले हेक्का राखेको हुँदैन ।

रुकुम–जाजरकोटको घटनालाई नियाल्दा शुस्मा ठकुरी र नवराज बिक विगत केही वर्षदेखि सम्पर्क र सम्बन्धमा रहेको देखिन्छ । केटी आफैँ पनि पटक पटक केटाको घरमा गएर एउटै खाट सेयर गरेर रात बिताएका कुरा छन् । केटीको भाइले समेत केटालाई भिनाजु सम्बोधन गर्ने गरेको प्रसङ्ग छ । नवराज बिकको मुहारपुस्तिकाको भित्तोमा पोस्ट् गरिएका अभिव्यक्ति र तस्वीरले पनि उनीहरुको प्रेम सार्वजनिक भइसकेको अवस्था बुझिन्छ । यदि केटाको मात्रै जबर्जस्ती थियो भने साइबर क्राइममा जाक्न सकिन्थ्यो, त्यो प्रयास पनि कतैबाट भएको छैन । गत चैत्रमा पनि प्रेमिका लिन जाँदा कुटाइ खाएको अनि रातभरी चौकीमा थुनिएको खबर छ । यस्तै माहौल तातिँदै तात्दै गएपछि सायद केटीलाई थुनेर राखियो, काट्ने मार्ने डरत्रास देखाइयो अथवा अर्कै केटासङ्ग विवाह गरिदिने धम्की दिइयो । त्यही खबर शुस्माले नवराजलाई दिएपछि थुनिएर राखिएकी आफ्नी प्रेमिका खोस्न दलबलसहित सोच पलायो सायद । यो उमेर भनेको आलोकाँचो हुन्छ । के सही के गलत छुट्याउन कमैले मात्र सक्छन् ।

छातीमा हात राखेर हामी आफैँले आफ्नो किशोरावस्था अनि त्यसबेला गरेका उट्पट्याङ्ग सम्झिए पुग्छ । ती सबै हामीले गरेका थिएनौँ । हाम्रो उमेरले गरेको चकचक थियो । यस घटनामा पनि दुबैतर्फका अभिभावक वा शिक्षकले नवराज र शुस्मालाई प्रेमको प्रसङ्ग, उमेरको कौतुहलता, जीवनको परिभाषा सिकाउँदै अहिले प्रेम गरिराख, त्यही प्रेमको उर्जाले दुबैजना आ–आफ्नो खुट्टामा उभिन सक्ने बन अनि विवाह गरौला भनिदिएको भए उनिहरू सायद अहिले नै मरिहत्ते गरिहाल्दैनथे । सङ्गै बाँच्न पाउने मीठो सपना बोकेर सकारात्मक अपेक्षामा जिउन थाल्थे अनि सही र गलत छुट्याउन सक्ने परिपक्व उमेरमा पुगेपछि कि सहमतीमा नै अलगिन्थे कि प्रेममा जात, धर्म, वर्ग वा लिङ्ग केही बाधक बन्नु हुँदैन, प्रेमले समाज र संस्कार पनि हेर्दैन, जातीयता भन्दा धेरै अग्लाइमा हुन्छ मानवता भन्दै धार्मिक, जातीय, साँस्कृतिक, सामाजिक मूल्यमान्यता तोडेर नयाँ समाज निर्माण गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्दथे । तर त्यो चेतनाको स्तर कहाँ पाउनु रुकुम–जाजरकोटमा । जातीयताकै नारालाई र्भयाङ्ग बनाएर बालुवाटार र सिँहदरबार पुगेकाहरूले त भुलिसके होलान् आफ्नै नारा अनि आफैँले यहि मुद्दामा युद्द छेडेको रुकुम ।

हतियारको युद्दले हजारौँ आमाको काख रित्याएर, हजारौं बालबालिका टुहुरा बनाएर , हजारौँ आमाका सिउँदो पखालिएर अथवा हजारौंको रगत बलि चढाएर भन्दा कलमले विचार प्रवाह गर्न पाएको भने त्यो दस वर्षे युद्द परिणाममुखी हुने रहेछ भन्ने लागेको छ कि छैन होला सरोकार पक्षलाई । त्यसो गरिएको भए चेतनामा स्तरोन्नती हुन्थ्यो र अहिले भेरीले प्रेम बगाउन बाध्य हुनु पर्दैनथ्यो भन्ने लाग्छ कि लाग्दैन होला ।

उरन्ठ्यौला उमेरका किशोरहरू त हुल बाँधेर गए त्यो गलत काम नै थियो किनकी त्यसरी जितिँदैनथ्यो नै तर समाजसेवामा समर्पित वडाध्यक्षसहित गाउँका भद्र भलाद्मी नै लागेर आधा बाटोमै घेराबन्दीम पारेर किशोरहरू घाइते बनाइनु, मारिनु हिँसाको नि पराकाष्ठा हो । हिँसा हुन लाग्यो भने पनि मिलाउनु पो पर्थ्यो यो तहका मान्छेले त । प्रहरी प्रशासनलाई खबर गरेर जिम्मा लगाउन सकिन्थ्यो अनि केटीपट्टिका आफन्त बोलाएर छलफल गरी निकास निकाल्न सकिन्थ्यो । दुर्भाग्य त्यसो हुन सकेन ।

त्यसैगरी अर्को कुरा यदि नवराज बिक नभएर मल्ल थरसङ्ग मिल्ने अरूनै थरको केटा भएको भए त्यहाँ नौमती बाजा बजाएर विवाह हुन्थ्यो । न त्यहाँ उमेरको हदबन्दीले छेक्थ्यो, न प्रेम नै अछुतो हुन्थ्यो, न बलात्कारको कुरा आउँथ्यो । अझै पनि कानून सिँहदरबारभित्र कागजमा सीमित छ ।

कतिलाई कानूनमा के छ भन्ने समेत ज्ञान छैन । गाउँघरमा समाजद्वारा निर्मित सामाजिक वा व्यवहारिक मूल्यमान्यताले नै कानूनको व्याख्या गरिरहेको छ । सामाजिक कानून नै बलियो छ । १६ वर्ष पुगेर १७ लागेपछि छोरी बुढी भई अब बिक्दिन, छोरी भनेको अर्काको घरमा जाने जात हो पढाएर काम छैन, छोरीमान्छे भनेको तर्क गर्न सक्ने होइन जे भएनी सहेर घर गरिखान सक्ने हुनुपर्छ, तर्क गर्न थाली भने घर बिग्रन्छ, छोरी तार्किक र विद्रोही बनाउनुहुंदैन सहनशील बनाउनुपर्दछ भन्ने म हुर्केको समाज ज्युँदैछ अझै सुदूरतिर । त्यसैले सिँहदरबारको पेटीमा बसेर रुकुम–जाजरकोटको विषयमा न्यायको ढक तराजु बोकेको नाटकमा न्यायधीश बन्न त्यति सहज र न्यायिक हुँदैन । अनुभूतिबेगरका विषयमा पोखिएका अनुमानित अभिव्यक्तिले सत्यतथ्यगत भाव छाम्न सक्दैन ।

त्यसैले हरेक तह र तप्कामा पुगेर मानवीय विचार संप्रेषण गरौं । विचारले नै हो समाज रुपान्तरण सम्भव हुने भनेको । विचारको स्तर उकास्न नसकेसम्म यहाँ लाखौं नवराजहरू भेरीमा हामफाल्न बाध्य भइरहनेछन्, लाखौँ शुस्माहरुको प्रेम थुनिएर निसास्सिरहनेछन्, पिल्सिरहनेछन् , पूरै गाउँ शोकमा डुबिरहनेछन् । नचाहेर पनि प्रेमिप्रेमिकाहरूको शव बगाउन बाध्य भइरहनेछ भेरी । अन्त्यमा दोषीलाई कडाभन्दा कडा सजाय होस् ता कि आइन्दा कसैले पनि यस्तो घटना घटाउन दुस्साहस गर्न नसकोस् र कोही कसैले पनि यस्तो विभत्स घटनाको सामना गर्नु नपरोस् ।
लेखिकासँग सम्बन्धीत अन्य लेखहरुः
⇒‘मानवता’
⇒‘कतिपय डरलाग्दा हिंसाहरु घरभित्रै लकडाउनमा लक भएर बसेका छ्न्’

लेखिका मानव/महिलाअधिकारकर्मी तथा साहित्यकार हुन् ।

प्रकाशित : १६ जेष्ठ २०७७, काठमाडौं

प्रतिक्रिया दिनुहोस्