संघीय संसदको लोगो परिवर्तन गरिँदै



११ जेष्ठ २०७७, काठमाडौं

संघीय संसदको प्रतीकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको आइतबार (आज) बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताए ।

संघीय संसदका दुवै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ ।

परामर्श समितिको बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्