भारतीय मिडीयाको अचाक्ली विष वमन : नेपाललाई मजबूर होइन, मजबूत बन्न सन्देश



-प्रकाशचन्द्र परियार

भारतका वरिष्ठ पत्रकार पी साईनाथ भन्छन्, ‘भारतीय मिडीया सेकेण्ड सेकेण्डमा महिलाहरु बलात्कृत भएको समाचार देख्दैन लेख्दैन, दैनिक किसानहरु आत्महत्या गरेको समाचारलाई महत्व दिँदैन, तन्नम गरिबीले सदगत गर्न पनि नपाउने समाजको चित्र लेख्दैन तर हप्तौंसम्म कार्यक्रम बनाउँछ ‘ऐश्वर्य राय गर्भवती भएकी छन, उनले छोरा जन्मालिन कि छोरी ? बच्चन परिवारले बच्चाको नाम के राख्दै छ ? के ऐश्वर्या बच्चा जन्माउन खुशी थिइन् ?

वर्षौंदेखि भारत- पाक, भारत- चीन, भारत- नेपालबीचको सम्बन्धमा एकोहोरो विष वमन गर्ने मिडीया पछिल्लो दशक मोदी फासिजमको एकोहोरो मुखपत्र भएको भन्दै भारतमा कर्पोरेट मिडीया ‘पेड मिडीया’मा रुपान्तरण भएको भन्दै आलोचना भइरहेको छ ।

पछिल्लो ६ महिनादेखि भारतीय मिडीया नेपालविरुद्ध एकोहोरो विष वमन गरिरहेको कुरा हामीले नजिकबाट नियालिरहेका छौं । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग उसको राजनीतिक नक्सामा राखेदेखिनै नेपाली राजनीतिक दल, नागरिक समाज, प्रवुद्ध वर्ग र मिडीया एक ठाँउमा देखिए पनि भारतीय मिडीयाको विष वमन निरन्तर थियो ।

तर पछिल्लो पटक नेपाल सरकारले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्ने घोषणा सार्वजनिक भएलगत्तै देखि भने भारतीय मिडीयाहरु अचाक्ली रुपमा मिथ्यांक, भ्रम, प्रपोगाण्डाका साथ नेपालविरुद्ध एकोहोरो प्रस्तुत हुनुलाई हामीले अत्यन्त संवेदनशीलताका साथ हेर्नुपर्छ कि केही अपवाद मिडीया बाहेक त्यहाँबाट सन्तुलित समाचार आउनेवाला छैन ।

बरु उनीहरुको एकोहोरो विष वमनवाट हामीले के बुझौं भने अब भारतसँगको कूटनीतिक वार्ता, संवाद र दावी विरोधमा निकै संवेदनशील रुपले प्रस्तुत हुन सबै खाले संयन्त्रको निर्माण, पूर्ण तयारीका साथ प्रस्तुत हुनैपर्छ । अर्थात् तार्किक निष्कर्षमा पुग्न अर्थात हाम्रो अतिक्रमित भूभागबाट उनीहरुलाई छोडाउन अति धेरैनै सुझबुझ र मेहनतको अत्यावश्यक छ ।

म फेरि भन्छु संयमता !
अझ संयमता ! संवेदनशीलता !
झन संवेदनशीलता अत्यावश्यक । तयारी तयारी, पूर्ण तयारी अत्यावश्यक छ ।
मदिराको मातमा होस् गुमाएर आफ्नै घरमा आगो लगाए जस्तो नयाँ नक्साको नसामा कूटनीतिक, रणनीतिक र राजनीतिक संयमता नगुमाऔं । अझ संवेदनशील र रणनीतिक कूटनीतिक हिसाबले मजबुर सम्बन्धलाई मजबुत सम्बन्धमा रुपान्तरण गर्न अत्यन्त संयममता, विशिष्ट तयारी अत्यावश्यक छ । चाहे सरकार होस्, सदन, सडक होस् सदन वा मिडीया आफ्नो मूल धर्म नछोडौं ।

भारतीय मिडीयाको तमासा हेर्दै गरौंला, आफ्नो अब्बल तयारी पहिलो प्राथमिकता हुनैपर्छ, यो अत्यन्त जरुर छ । कारण यो तुरुन्त र सजिलै सल्टिने विषयनै होइन र भारत नेपालको सम्बन्ध सीमा विवाद मात्रै होइन ।

यो सत्य हो कि हामीले दौत्य सम्बन्ध तोडेका छैनौ, प्रिय छिमेकी तपाईको ‘दैत्य सम्बन्ध’ मन पराईएको छैन । हामी मिलेर समाधान गर्न तयार छौं, आउनुस् वार्ताको तयारी गरौं ।

लेखक साझा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व पत्रकारसमेत हुन् ।

प्रकाशित : ०८ जेष्ठ २०७७, काठमाडौं

प्रतिक्रिया दिनुहोस्