पारा तेक्वान्दोद्वारा खेलाडीलाई राहत



०८ जेठ २०७७, काठमाडौं

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनका कारण समस्यामा परेका पारा तेक्वान्दोद्वारा खेलाडीलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)ले बुधबार खाद्यान्न उपलब्ध गराएको छ । ५ राष्ट्रियसहित ७ पारा तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराइएको हो ।

एनटीएका अध्यक्ष अशोक खड्काले प्रत्येक खेलाडीलाई १ हजार ८ सय रुपैयाँ बराबरको राहत उपलब्ध गराएको जानकारी दिए । खेलाडीका लागि नेपाली सेनाका कर्णेल सुमन खड्काका पिता नेत्रबहादुर र माता सानुमैया तथा तेक्वान्दो प्रशिक्षक एसएस जोशीले सहयोग गरेको खेड्काले बताए । खेलाडीको सुविधालाई ध्यानमा राख्दै एनटीएले खेलाडी बस्ने ठाउँमै पुगेर राहत उपलब्ध गराएको थियो । यो कार्यमा राम अधिकारी खटिएका थिए ।

त्यस्तै एनटीएले समस्यामा परेका आफ्नै खेलाडीका ९ परिवारलाई पनि बुधबारै राहत वितरण गर्यो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सहयोगमा खेलाडीलाई राहत वितरण गरिएको हो । पूर्व प्रधानमन्त्री नेपालले समस्यामा परेका परिवारलाई वितरण गर्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा मार्फत एनटीएलाई केहि परिवारका लागि राहत स्वरुप खाद्यान्न उपलब्ध गराएका थिए । त्यसैबाट खेलाडीलाई राहत प्रदान गरिएको खड्काले बताए । यसअघि एनटीएले समस्यामा परेका करिब २ सय ५० परिवारलाई राहत वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्