नेपाल कश्मीर होइन : भारतीय प्रोफेसर अशोक स्वैन



काठमाडौं । भारतीय प्रोफेसर अशोक स्वैनले नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई भारतले विरोध गर्नुको कुनै अर्थ नरहेको औंल्याएका छन् ।

बुधबार (हिजो) आफ्नो आधिकारिक/भेरीफाइड् ट्वीटर ह्याण्डलमा ट्वीट् गर्दै स्विडेनको उप्साला विश्व विद्यालयमा प्राध्यापकको रुपमा कार्यरत स्वैनले उक्त प्रकरणलाई ‘नक्सा युद्ध’ को संज्ञा दिँदै यस्तो उल्लेख गरेका हुन् ।

“भारतले नेपालको नयाँ नक्सा अस्वीकार गर्यो । भारतले यसलाई स्वीकार गर्छ भनेर कसैले सोचेको पनि थिएन । यद्यपि, यो ‘नक्सा युद्ध’ कसले शुरु गर्यो ? किन भारतले नोभेम्बर २०१९ मा एकतर्फी रुपमा नयाँ राजनीतिक नक्सा ल्याउनु परेको थियो ? यो शक्तिले उन्माद मोदीद्वारा कश्मीरको नक्सा पुनः तयार गर्नका लागि थियो । तर, नेपाल कश्मीर होइन ।” उनले ट्वीट्मार्फत् उल्लेख गरेका छन् ।

नेपालले बुधबार (हिजो) मात्रै भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ राजनीति तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । त्यसपछि भारतले उक्त नक्सा आफूलाई स्वीकार्य नहुने प्रतिक्रिया दिएको थियो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने उक्त नक्साका विषयमा संविधान संशोधनसमेत छिट्टै हुने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्