‘सरकारले बेपत्ता योद्धाको छानबिन गरी पिडित परिवारलाई राहत दिनुपर्छ’ : नेकपा बागमती अध्यक्ष नारायण दाहाल



०७ जेठ २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष नारायण दाहालले बेपत्ता योद्धा दिवसको सन्दर्भमा एक प्रेस विज्ञप्ती जारी गर्दै पहिले भएका सम्झौता अनुसार नेपाल सरकारले बेपत्ता नागरिकको छानबिन गरी पिडित परिवारलाई राहत दिनुपर्ने बताएका छन् ।

विज्ञप्तीमा, ‘भिषण जनयुद्धको क्रममा २०५६ सालमा तत्कालिन पार्टी केन्द्रिय सदस्य क. दण्डपाणी न्यौपाने लगायत पार्टी नेता कार्यकर्ता तथा नेपाली आमाका होनाहार छोराछोरीहरुलाई गैरकानुनी रुपमा गिरफ्तार गरी उहाँहरुको स्थिति हालसम्म अज्ञात नै रहेको छ । राजनीतिक आस्था र विचारमा प्रतिवद्ध भएकै कारण बेपत्ता बनाउनु निकै खेदजनक रहेको छ । ती बेपत्ता योद्धाहरुको स्थिति अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।

बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने सम्बन्धमा सरकार तथा तत्कालिन माओवादी पार्टीबीच पटक–पटक लिखित र मौखिक प्रतिवद्धताहरु भएका छन् । त्यसमा दुबै पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको बारेमा छानबिन गरि सार्वजनिक गर्न उच्च स्तरीय छानबिन आयोग गठन गर्ने र सो छानबिन आयोगको प्रतिवेदनको आधारमा बेपत्ता भएका पीडित परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको थियो । तर हालसम्म पनि उहाँहरुको अवस्था सार्वजनिक नहुनुले स्थिति गम्भिर बनेको छ ।

बेपत्ता योद्धा दिवसको सन्दर्भमा ती सम्पूर्ण सहमति र प्रतिवद्धताहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गर्दै नेपाल सरकारसँग अनुरोध गर्दछु भनिएको छ ।’

अध्यक्ष दाहालद्वारा जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्