नेकपा नेता तथा सामाजिक अभियन्ता प्रदिप डंगोलको सक्रियतामा ३६ हजार बढीलाई निःशुल्क खाना (भिडियो सहित)



०७ जेठ २०७७, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठका सचिव तथा सामाजिक अभियन्ता प्रदिप डंगोलले महिला अधिकारकर्मी लिली थापासँगको सहकार्यमा २०७७ बैशाख ५ गतेदेखि शुरु गरेको असंगठित मजदूरहरुलाई निःशुल्क खाना वितरण कार्यक्रम ३२ दिनपछि टुङ्गिएको छ ।

शुरुमा ७० जनाबाट शुरु गरिएको निःशुल्क खाना वितरण अभियानको अन्तिम दिनमा १७१४ जनाले खाना खाएका थिए । बूनपा १ देखि ८ सम्म बसोबास गर्ने नागरिकहरुलाई वितरण गरिएको खाना ३६१०१ छाक ख्वाएर समापन गरिएको छ । परिवर्तन खबरसँगको कुराकानीमा डंगोलले भने,“भारत लगायतबाट आएका नागरिकहरुको कारण छहारी भवनमा १२ जना क्वारेन्टाईनमा राख्नुपर्ने भएपछि खाना बनाउने र ख्वाउने अभियान रोक्नुपर्‍यो ।”

उनका अनुसार स्थानीय व्यक्ति र संघसंस्थाको सहयोगमा स्थानीय युवाहरु र एकल महिलाहरुको स्वयम्सेवी समूह सहित डंगोल र थापाको अविराम खटाईको कारणले त्यो मात्रामा खाना बनाउन र ख्वाउन सम्भव भएको हो । राजनीतिक नेतृत्व सहित सामाजिक व्यक्तित्व भएका डंगोल र थापाको सामाजिक अभियानमा जनप्रतिनिधि र राजनीतिक दलका सदस्यहरुले समेत सहयोग गर्ने वातावरण बनेको थियो ।  सामाजिक अभियानलाई राजनीतिक रङ्ग दिन नचाहने नेता डंगोलकै कारणले अभियानले सार्थकता पाएको अधिकारकारकर्मी थापाको विश्वास छ ।

को हुन् प्रदिप डंगोल ?
प्रदिप डंगोल २३ वर्षदेखि बालबालिका र मानव अधिकारको क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता र अधिकारकर्मी हुन् । हाल गैह्र सरकारी संस्था (गैसस) महासंघ काठमाडौंको अध्यक्ष समेत रहेका डंगोल विद्यार्थी काल २०४४ सालदेखि अनेरास्वियुमा समेत क्रियाशील भएर राजनीतिक अभियानमा जोडिएका व्यक्तित्व पनि हुन् ।

विद्यार्थी जीवनमै कम्युनिष्ट विचारधारामा आवद्ध डंगोलले २०४६ सालको पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय सहभागी हुँदै विपन्न र पछाडि पारिएका वर्गको उत्थानमा समेत राजनीतिक र सामाजिक रुपमा निरन्तर लागिरहे ।  २०५० सालदेखि तत्कालिन नेकपा (एमाले) को संगठित सदस्यता प्राप्त गरेका डंगोलले तत्कालीन खड्का भद्रकाली गाविसमा भएका ४ निर्वाचनमा नेकपा (एमाले) को कमाण्डरको रुपमा पार्टी उम्मेदवार जिताउन योगदान पुर्‍याए।

पार्टीको तत्कालिन ईलाका कमिटीको नेतृत्व गर्दै जिल्ला प्रचार कमिटीमा रही काम गरेका डंगोल पार्टी एकतापछि अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ नगर कमिटीको सचिवको जिम्मेवारीमा क्रियाशील छन् ।

प्रतिक्रिया दिनुहोस्