नेपाल प्रहरी र वडाको सहकार्यमा बूढानीलकण्ठमा घरेलु मदिरा तथा कच्चापदार्थ नष्ट



०७ जेठ २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा १३ मा ठुलो परिमाणमा उत्पादन गरिएको घरेलु मदिरा तथा आवश्यकिय कच्चापदार्थ नष्ट गरिएको छ । महानगरिय प्रहरी प्रभाग बूढानीलकण्ठ र वडाको सहकार्यमा बूढानीलकण्ठ नगरपालिका वडा १३ टुसाल स्थित कुमारीमाइबाट मदिरा नष्ट गरिएको हो ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ बाट प्रहरी सहायक निरीक्षक सुन बहादुर तमाङ सहित ५ जनाको टोली र हात्तिगौँडा प्रहरी बिटका ईन्चार्ज प्रहरी सहायक निरीक्षक चन्द्र कुमार राई सहित २ जनाको टोली गरी ७ जना प्रहरी, बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष, स्थानीयहरु लगायतको सहयोगमा मदिरा नष्ट गरिएको थियो ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको अगुवाई तथा हात्तिगौँडा प्रहरी बिट र १३ का वडाध्यक्षको सहकार्यमा कुमारीमाई स्थान नजिकैको एक बिक्रेताबाट तयारी अवस्थामा राखिएको मदिराका र मदिरा बनाउन आवश्यकिय कच्चापदार्थसहितका सामग्री नष्ट गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले घरेलु मदिरा उत्पादनले समाजमा विभिन्न खालका नराम्रा गतिविधि बढेको धारणा व्यक्त गर्दै त्यस किसिमका व्यवसायलाई बन्द गर्न आवश्यक रहेको बताए । घरेलु मदिरा उत्पादन बन्द गर्न मदिरा व्यवसायमा संलग्नलाई अन्य सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।

विगतबाटै बूढानीलकण्ठ प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीको अगुवाई तथा सक्रियतामा मदिरामुक्त नगर निर्माण गर्नका लागि नगर भित्रका विभिन्न स्थानबाट मदिरा नष्ट गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्