मुख्य सचिवबाट नेपालको नयाँ नक्सा प्रमाणीकरण, आजै सार्वजनिक



०७ जेष्ठ २०७७, काठमाडौं

मुख्य सचिव लोकदर्शन रेग्मीबाट नयाँ नक्सा प्रमाणीकरण भएको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा मुख्य सचिव रेग्मीबाट मंगलबार (हिजो) प्रमाणीकरण भएसँगै बुधबार (आज) नक्सा सार्वजनिक गरिँदै छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मी (हिजो) लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्यास गाउँपालिकामा समेटेर नक्सा प्रमाणीकरण गरेका हुन् ।

सचिव न्यौपानेले हिजो नयाँ नक्सा प्रमाणीकरणका लागि मन्त्रालयबाट टिप्पणी उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पेस गरेका थिए ।

प्रमाणित नयाँ नक्सा आज भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्न लागेको उच्च स्रोतले बतायो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ ।

अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो ।

|तस्वीरमा नेपालको नयाँ नक्साको स्वरुप। श्रोतः|

प्रतिक्रिया दिनुहोस्