नक्सासँग सम्बन्धित विषयमा मात्रै संविधान संशोधन : प्रधानमन्त्री



०६ जेष्ठ २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नक्साको विषयमा मात्रै संविधान संशोधन हुने बताएका छन् ।

मंगलबार (आज) सरकारको आव २०७७/७८को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सालाई कानूनी मान्यता दिन संविधान संशोधनको तयारी गरेको छ । प्रधानमन्त्री ओलीकाअनुसार उक्त संशोधन प्रस्ताव छिट्टै संघीय संसदमा दर्ता हुनेछ ।

संविधानको अनुसूची ३ मा नेपालको निशान छाप छ । उक्त निशान छापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले त्यसलाई सच्याएर संविधानमा नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने हुन्छ ।

नेमकिपा सांसद प्रेम सुवालले नक्साबारे मात्रै समेटिन्छ कि अन्य विषय पनि समेटिन्छ संशोधनमा ? भनेर सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अरु पनि विषयहरु होलान् । संविधान असंशोधनीय दस्तावेज होइन भनेर उहिलेदेखि म भनिरहेको छु । आवश्यकता अनुसार संशोधन हुन्छ । औचित्यका आधारमा संशोधन हुन्छ ।’

तर हाललाई नक्सासँग सम्बन्धीत विषयलाई मात्रै संशोधन गर्ने उनले प्रष्टीकरण दिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्